
काठमाडौं ।
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना सबै सेवाहरु सुचारु भैसकेको बताएको छ।
आज बिहान साढे ११ बजेदेखि कम्पनीद्वारा प्रवाह गरिंदै आएका इन्टरनेट, रिचार्ज, एनसेल एप लगायतका सेवाहरुमा प्राविधिक समस्या आई आंशिक रुपमा अवरुद्ध रहेको थियो।
यसबारे कम्पनीले सेवाहरु यथाशीघ्र पूर्ण रुपमा सुचारु गर्न प्राविधिक टोली तदारुकताका साथ कार्यरत रहेको यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सूचना नै जारी गरेको थियो।
‘बिहान साढे ११ बजेतिर डाटा सेवा आउने, जाने प्राविधिक समस्या देखियो र पछि रिचार्ज र एनसेल एपका सेवाहरुमा पनि केही समस्या देखिएकाले प्राविधिक टोली त्यसलाई समाधान गर्न लागिपर्यो। एकपछि अर्को गर्दै अहिले सबै सेवालाई सुचारु गरिसकिएको छ,’ एनसेल स्रोतले बतायो।
करिब १ घण्टाअघि यसबारे आधिकारिक सूचना जारी गर्दै कम्पनीले सेवा सुचारु भएको प्रस्ट्याएको हो।

प्रकाशित: ५ माघ २०८२, सोमबार