
काठमाडौं ।
दक्षिण कोरियाका व्यापार मन्त्रीले शनिबार अमेरिकी सरकारले केही उन्नत कम्प्युटिङ चिपहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणाले कोरियाली कम्पनीहरूमा तत्काल ठूलो प्रभाव नपार्ने बताएका छन्।
“सरकार प्रारम्भिक चरणमै सतर्क रहे पनि अहिलेसम्म घोषणा गरिएका पहिलो चरणका उपायहरू एनभिडिया र एएमडीले उत्पादन गर्ने उन्नत चिपहरूमा केन्द्रित छन्,” व्यापार मन्त्री यो हान–कुले भने।
“दक्षिण कोरियाली कम्पनीहरूले मुख्य रूपमा निर्यात गर्ने मेमोरी चिपहरू हाल यस दायराबाहिर रहेकाले तत्काल प्रभाव सीमित हुने अपेक्षा गरिएको छ।”
तर, उनले सम्भावित दोस्रो चरण कहिले र कसरी विस्तार हुन्छ भन्ने विषयमा अझै अनिश्चितता रहेकाले “ढुक्क हुने समय नभएको” चेतावनी पनि दिए। उनले सरकार उद्योगसँग नजिकबाट सहकार्य गर्दै कोरियाली कम्पनीहरूका लागि सकेसम्म राम्रो नतिजा निकाल्न प्रयास जारी राख्ने बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सेमिकन्डक्टर आयातसँग सम्बन्धित राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले एक घोषणा पत्रमा हस्ताक्षर गर्दै केही कृत्रिम बुद्धिमत्ता (एआई) चिपहरूमा २५ प्रतिशत कर लगाएका थिए। यसमा एनभिडियाको एच२०० एआई प्रोसेसर र एएमडीको एमआई३२५एक्सजस्ता चिपहरू समावेश छन्।
ह्वाइट हाउसका अनुसार यी करहरू सीमित दायरामा लागू गरिनेछ र अमेरिकी डाटा सेन्टरका लागि आयात गरिने चिप तथा तिनका व्युत्पन्न उपकरणहरूमा लागू हुने छैन। एआई चिपका ठूला उपभोक्ता रहेका डाटा सेन्टर, स्टार्टअप, डाटा सेन्टरबाहिरका उपभोक्ता प्रयोग, गैर–डाटा सेन्टर औद्योगिक प्रयोग तथा अमेरिकी सार्वजनिक क्षेत्रका लागि आयात गरिने चिपहरू पनि यसबाट प्रभावित नहुने बताइएको छ।
तथ्यहरुका अनुसार घरेलु उत्पादनलाई प्रोत्साहन गर्न अमेरिकाले निकट भविष्यमा सेमिकन्डक्टर र तिनका व्युत्पन्न उत्पादनहरूमा अझ व्यापक कर लगाउने सम्भावनासमेत खुला राखेको छ।
ब्लूमबर्गका अनुसार अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले शुक्रबार दक्षिण कोरियाली चिप उत्पादक तथा अमेरिकामा लगानी नगर्ने ताइवानी कम्पनीहरूले अमेरिकी भूमिमा उत्पादन विस्तार गर्ने प्रतिबद्धता जनाएनन् भने १०० प्रतिशतसम्म करको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनी न्यूयोर्कको सिराक्युज नजिक माइक्रोनको नयाँ प्लान्टको शिलान्यास समारोहमा सहभागी भएका रोयटर्सले उल्लेख गरेको छ।
यो घोषणा १९६२ को ट्रेड एक्सपान्सन एक्टअन्तर्गतको धारा २३२ अनुसार नौ महिनासम्म गरिएको अनुसन्धानपछि आएको हो। यसले निश्चित कार्यक्षमता मापदण्ड पूरा गर्ने उच्चस्तरीय सेमिकन्डक्टर र ती चिप समावेश भएका उपकरणहरूलाई आयात करको दायरामा ल्याउने लक्ष्य राखेको छ।
यो कदम अमेरिका भित्र सेमिकन्डक्टर उत्पादन बढाउने र ताइवान जस्ता स्थानका उत्पादकहरूमाथिको निर्भरता घटाउने व्यापक प्रयासको हिस्सा भएको बताइएको छ।
प्रकाशित: ४ माघ २०८२, आईतवार