अमेरिकी भन्सार सम्झौतापछि एआई क्षेत्रमा अमेरिकाको रणनीतिक साझेदार बन्ने लक्ष्यमा ताइवान

  • Technology Khabar | ३ माघ २०८२, शनिबार
अमेरिकी भन्सार सम्झौतापछि एआई क्षेत्रमा अमेरिकाको रणनीतिक साझेदार बन्ने लक्ष्यमा ताइवान

काठमाडौं ।

अमेरिकासँग भन्सार कर घटाउने सम्झौता गरेपछि ताइवानले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा निकट रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ। उपप्रधानमन्त्री चेंग ली–चुनले शुक्रबार यसबारे जानकारी दिएका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले सेमिकन्डक्टरको प्रमुख उत्पादक ताइवानलाई एआईमा प्रयोग हुने चिप उत्पादनका लागि अमेरिकाभित्र लगानी बढाउन दबाब दिँदै आएको छ।

“यस वार्तामा हामीले ताइवान–अमेरिका उच्च प्रविधि क्षेत्रमा दुईतर्फी लगानी प्रवर्द्धन गर्‍यौँ,” वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनबाट लाइभ प्रसारित अभिव्यक्तिमा चेंगले भनेका छन्। “आगामी दिनमा हामी नजिकका एआई रणनीतिक साझेदार बन्ने आशा गरेका छौँ।”

बिहीबार टुंगिएको व्यापार सम्झौताका लागि भएको वार्ताको नेतृत्व चेंगले गरेका थिए। सम्झौताले ताइवानका धेरै निर्यात वस्तुमा लाग्ने भन्सार कर घटाउने र अमेरिकी प्रविधि उद्योगमा नयाँ लगानी निर्देशित गर्ने व्यवस्था गरेको छ। तर यसले चीनलाई असन्तुष्ट बनाउन सक्ने संकेत पनि देखिएको रोयटर्सले उल्लेख गरेको छ।

लोकतान्त्रिक शासन प्रणाली भएको ताइवानलाई चीन आफ्नो भूभागको हिस्सा मान्छ र अमेरिका–ताइवानबीचको उच्चस्तरीय सम्बन्धको कडा विरोध गर्दै आएको छ। ताइवानले भने बेइजिङको सार्वभौमिकताको दावी अस्वीकार गर्दै आएको छ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार ताइवानका कम्पनीहरूले अमेरिकामा सेमिकन्डक्टर, ऊर्जा र एआई उत्पादन विस्तारका लागि २५० अर्ब डलर लगानी गर्नेछन्। यसमध्ये सन् २०२५ मा विश्वकै अग्रणी चिप निर्माता टीएसएमसीले प्रतिबद्ध गरेको १०० अर्ब डलर पनि समावेश छ, र थप लगानी आउने लुटनिकले बताएका छन्।

ट्रम्प प्रशासनका अनुसार ताइवानले थप लगानी सहज बनाउन २५० अर्ब डलर बराबरको क्रेडिट ग्यारेन्टी पनि दिनेछ।

निकट साझेदार’

 चेंगले यस सम्झौतालाई “दुवै पक्षका लागि लाभदायक” बताएका छन्। उनका अनुसार यसले ताइवानमा अमेरिकी लगानी पनि प्रोत्साहित गर्नेछ। औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र प्रमुख हतियार आपूर्तिकर्ता रहँदै आएको छ।

लगानी योजना सरकारद्वारा निर्देशित नभई कम्पनी–नेतृत्वमा आधारित भएको र ताइवानका कम्पनीहरूले स्वदेशमै पनि लगानी निरन्तर गर्ने चेंगले स्पष्ट पारेका छन्।

“हामी यस आपूर्ति–श्रृंखला सहकार्यलाई ‘स्थानान्तरण’ होइन, ‘निर्माण’ का रूपमा हेर्छौँ,” उनले भने। “हामी अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्दै त्यहाँ स्थानीय आपूर्ति–श्रृंखला निर्माणमा सहयोग गर्छौँ, तर यो ताइवानको प्रविधि उद्योगको विस्तारकै निरन्तरता हो।”

ताइवानका अर्थमन्त्री कुङ मिङ–ह्सिनका अनुसार लगानी एआई सर्भर र ऊर्जामा पनि केन्द्रित हुनेछ। चिपसम्बन्धी ठ्याक्कै रकम सार्वजनिक गर्ने जिम्मा कम्पनीहरूमै रहने उनले बताए।

शुक्रबार ताइवानको मुख्य सेयर सूचकांक ऐतिहासिक उच्च बिन्दुमा बन्द भएको छ। टीएसएमसीको चौथो त्रैमासिकको बलियो नाफा र भन्सार सम्झौताप्रति लगानीकर्ताको सकारात्मक प्रतिक्रियाले बजार उचालिएको हो।

“चिप र सम्बन्धित उत्पादनका लागि अमेरिकाबाट सबैभन्दा प्राथमिकता पाउने देशका रूपमा ताइवान पहिलोपटक सार्वजनिक रूपमा उल्लेख भएको छ,” ताइवान इन्स्टिच्युट अफ इकोनोमिक रिसर्चका अध्यक्ष चाङ चिएन–यीले रोयटर्सलाई भनेका छन्। “यसले वासिङ्टनले ताइवानलाई सेमिकन्डक्टर क्षेत्रमा प्रमुख रणनीतिक साझेदारका रूपमा हेरेको स्पष्ट संकेत दिन्छ।”

टीएसएमसीको भूमिका

 विश्वकै अग्रणी उन्नत एआई चिप निर्माता टीएसएमसीले अमेरिका–ताइवानबीच “मजबुत” व्यापार सम्झौताहरूको सम्भावनालाई स्वागत गरेको छ। कम्पनीले भनेको छ, उसका सबै लगानी निर्णय बजार अवस्था र ग्राहक मागका आधारमा हुनेछन्।

“हाम्रो उन्नत प्रविधिप्रति बजारको माग अत्यन्त बलियो छ,” टीएसएमसीको विज्ञप्तिमा उल्लेख छ। “हामी ताइवानमा लगानी जारी राख्दै विदेशमा पनि विस्तार गर्दैछौँ।”

रोयटर्सका अनुसार सम्झौता कार्यान्वयनमा आउन ताइवानको संसदबाट अनुमोदन हुनुपर्नेछ। संसदमा विपक्षी दलको बहुमत छ, जसले अमेरिकी व्यापार सम्झौताले महत्वपूर्ण चिप उद्योग ‘खोक्रो’ बन्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ।

लुटनिकका अनुसार ताइवानको समग्र चिप आपूर्ति–श्रंखलाको ४० प्रतिशत उत्पादन अमेरिकामा ल्याउने उद्देश्य राखिएको छ। यदि ती कारखानाहरू अमेरिकामा निर्माण नगरिए १०० प्रतिशतसम्म भन्सार कर लगाउन सकिने चेतावनी पनि उनले दिएका छन्।

कुङका अनुसार ४० प्रतिशतको आँकडा कसरी निकालिएको हो भन्ने विषयमा उनी स्पष्ट छैनन्। तर ताइवानको अनुमानअनुसार सन् २०३६ सम्म पाँच नानोमिटर वा त्यसभन्दा उन्नत चिप उत्पादनमा ताइवान र अमेरिकाबीचको अनुपात ८०/२० हुनेछ।

“यस चरणको विस्तारले ताइवान–अमेरिका तथा विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति–श्रंखलाको लचिलोपन बलियो बनाउनेछ,” उनले भने। “मध्यम स्तरको वैश्विक विविधीकरण आवश्यक छ, र आगामी दिनमा सबैभन्दा ठूला एआई अर्डरहरू अमेरिकी बजारबाट आउनेछन्।”

प्रकाशित: ३ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार