धनगढी उपमहानगरपालिकाद्वारा ‘सीप तथा रोजगार मेला’को तयारी तीव्र

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
धनगढी उपमहानगरपालिकाद्वारा ‘सीप तथा रोजगार मेला’को तयारी तीव्र

काठमाडौं ।

युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको आयोजनामा आसन्न माघ ५ देखि फागुन १२ गतेसम्म सीप तथा रोजगार मेलाको सञ्चालन हुने भएको छ।

रोजगार मेलाका लागि हाल मेलास्थलमा टेन्ट व्यवस्थापन, तालिम कक्ष निर्माण, दर्ता कक्ष, सूचना डेस्क, विद्युत् तथा सरसफाइ व्यवस्थापनलगायत भौतिक तथा प्राविधिक तयारीका काम तिव्र रूपमा भइरहेको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।

मेलाका लागि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट तीन हजार ८०२ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमध्ये करिब दुई हजार २०० महिला, एक हजार ५०० पुरुष र बाँकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका आवेदक रहेको उपमहानगरपालिकाले जनाएको छ। आवेदक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया जारी रहेको छ।

कूल ६०० जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको उक्त तालिममा सात वटा क्षेत्रका २२ प्रकारका सीपमूलक तालिम सञ्चालन गरिने संयोजक महराले बताए। सात क्षेत्रका तालिममा अटोमोबाइल, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि, शैक्षिक तथा सेवा र आर्ट क्राफ्ट एण्ड डिजाइनिङ क्षेत्र रहेका छन्।

अटोमोबाइल क्षेत्रअन्तर्गत इलेक्ट्रिक कार र मोटरसाइकल÷स्कुटर मर्मत, निर्माण क्षेत्रअन्तर्गत फर्निचर, प्लम्बिङ र विल्डिङ इलेक्ट्रिकल वाइरिङ, अतित्य तथा सत्कार क्षेत्र अन्तर्गत कफि वारिस्ता, फास्टफुट÷कुक, वेटर÷वेटे«स र वेकरी, इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्रअन्तर्गत वेल्डिङ र रेफ्रिजेरेटर एसी प्राविधिक रहेका छन्।

त्यस्तै सूचना प्रविधि क्षेत्रअन्तर्गत डिजिटल मार्केटिङ, इलेक्ट्रोनिक्स (मोबाइल÷सिसिटिभी) र फोटोग्राफी तथा ड्रोन अपरेशन, शैक्षिक तथा सेवा क्षेत्रअन्तर्गत ईसिडी शिक्षक, पुरोहित, लेखा व्यवस्थापन, एडभान्स ब्यूटिसियन र हेयर कटिङ तथा आर्ट, क्राफ्ट एण्ड डिजाइनिङ क्षेत्रअन्तर्गत बुटिक तथा कडाइ, सांस्कृतिक पोसाक निर्माण र बेतवाँस क्राफ्ट/हस्तकला सामग्री रहेका छन्।

प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ। तालिम दैनिक छ घण्टा सञ्चालन हुनेछ। आवेदकमध्ये सबैभन्दा धेरै एड्भान्स ब्युटिसियन तालिमको लागि आवेदन दिएका बताइएको छ। तालिमको अवधि जम्मा ३० दिनको हुनेछ। त्यसपछि थप १० दिन रोजगारीमा जान इच्छुक सहभागीका लागि रोजगार परामर्श कार्यशाला सञ्चालन गरिनेछ भने आफ्नै पेसा वा व्यवसाय सुरु गर्न चाहनेका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिने उपमहानगरपालिकाले जनाएको छ।

तालिमपश्चात् दुई दिन रोजगारदाता सम्मेलन आयोजना गरिने छ। सम्मेलनमार्फत रोजगारीको खोजीमा रहेका प्रशिक्षार्थी र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबीच प्रत्यक्ष समन्वय गराइने  रोजगार संयोजक महराको भनाइ छ। रासस

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...