
काठमाडौं ।
सामाजिक सञ्जाल टिकटकको आफ्नो एकाउन्टमा भरुवा बन्दुक सहितको भिडियो पोस्ट गर्ने व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय विनोद ओझालाई कपिलवस्तु जिल्ला प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार ओझा कृष्णनगर न्युज टुडे (अनलाइन न्यूज) का सञ्चालकसमेत हुन्।
ओझाले केही दिन पहिले आफ्नो टिकटक एकाउन्टमा भरुवा बन्दुक सहितको भिडिओ राखेका थिए। सोही भिडियोको आधारमा प्रहरीले उनको घरमा खान तलासी गरेको थियो।
ओझाको घर खानतलासी गर्दा निजको घरमा लुकाई छिपाई अबैध रुपमा राखेको (एकनाले) खाली भरुवा बन्दुक एक थान फेला परेको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले ओझालाई बन्दुकसहित नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत कपिलवस्तुले सात दिन थुनामा राखेर हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० पुष २०८२, बुधबार