
काठमाडौं ।
अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन्।
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो।
उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
यसैबीच, ब्यूरोको टोलीले जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट आज पक्राउ गरेको छ। कारागारबाट फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल पेस गरिएको ब्यूरोले जनाएको छ। रासस
प्रकाशित: २९ पुष २०८२, मंगलवार