आर्थिक समाचार

नाफिजले गर्यो २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नाफिजले गर्यो २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
Global IME Bank

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ। नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो।

नाफिजले गत वर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो।

यस वर्ष उक्त बीमालेख नवीकरण गर्दै २७४ जनाको बीमा गरिएको हो। यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन्।
बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ।

यसमा कुल बीमाङ्क रकम १९ करोड १८ लाख रूपैयाँ रहेको छ। बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्न दुर्घटना बीमालाई निरन्तरता दिएको बताइन्।

‘हामीले गत वर्ष पनि सदस्यहरुको बीमा गरेका थियौं । त्यसमा दुर्घटनामा परेर घाइते भएका दुई जना सदस्यले दावी भुक्तानी लिनु भएको थियो’ उनले भनिन्, ‘पछिल्लो एक वर्षमा भएका विभिन्न आन्दोलनले पत्रकारहरूमा बीमाको महत्व थप बढाएको छ। फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सदस्यहरुको दुर्घटना बीमा नवीकरण गरेका हौँ।’

बीमामा समेटिएका बीमित सदस्यहरु कुनै कारणवश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्ने बताइएको छ।

यस्तै दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरिर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पुर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ।

Sajilo Visa
easy care