
काठमाडौं ।
नेपाल टेलिकमले हाल भास सेवा संचालन गरिरहेका अन्य सेवा प्रदायकहरुलाई आफ्ना सेवाग्राहीहरुको कुनै विवरण तथा जानकारी नदिईएको स्पष्ट पारेको छ।
कम्पनीले यस बारेमा गुनासो आएको भन्दै सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराईने बताएको हो।
नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेज (भास) VAS (Value Added Services) सेवा प्रणालीमा आवद्ध भई एसएमएसमा आधारित भास सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको उल्लेख गरेको छ।
“नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको छ। तर नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन,” कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको उल्लेख छ। आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरुलाई अनुरोधसमेत गरेको छ।
कम्पनीले भनेको छ, “सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”
प्रकाशित: २९ पुष २०८२, मंगलवार