पठाओ नेपालका प्रमुख बस्न्यातले काठमाडौं–१ बाट उम्मेदवारी दिने, उद्यमशीलता र सुशासन मुख्य एजेन्डा

  • Technology Khabar | २७ पुष २०८२, आईतवार
पठाओ नेपालका प्रमुख बस्न्यातले काठमाडौं–१ बाट उम्मेदवारी दिने, उद्यमशीलता र सुशासन मुख्य एजेन्डा

काठमाडौं ।

राइड सेयरिङ प्लेटफर्म ‘पठाओ’लाई नेपालमा भित्र्याउने असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं–१ मा उम्मेदवारी दिने घोषणा गरेका छन्। कुनै पार्टीबाट चुनाव लड्ने वा स्वतन्त्र उमेदवारका रुपमा भन्ने कुरा भने उनले हाल खुलाएका छैनन्।

उनले आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै लामो सोच–विचारपछि आफूले यो निर्णय लिएको बताएका हुन्। उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पुर्‍याएको बस्न्यातको भनाइ छ। उनले व्यवस्था सहज नहुँदा क्षमता हुँदाहुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थले राजनीतिमा जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गरेका छन्।

“म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ,” भन्दै बस्न्यातले आफ्नो उम्मेदवारीको उद्देश्य स्पष्ट पारेका छन्।

उनका मुख्य एजेन्डामा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन, जवाफदेहिता र पारदर्शिता, तथा अनुभव र नयाँ सोचलाई जोड्ने पहल रहेका छन्। युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

बस्न्यातले यो यात्रा एक्लै सम्भव नहुने उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्। “तपाईंहरूसँगै एक–एक पाइला अघि सार्दै परिवर्तनको लडाईं लड्नु छ,” उनले भनेका छन्।

राइड सेयरिङ प्लेटफर्म ‘पठाओ’लाई नेपालमा भित्र्याउने मात्र नभई देशमै राइड सेयरिङको संस्कृतिको विकास गर्दै गिग इकनोमीमार्फत सामाजिक–आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बस्न्यातको भूमिका उल्लेखनीय मानिएको छ। पठाओ नेपाल नेपालमा भित्रिएको दिनदेखि हालसम्म उनको नेतृत्वमा सञ्चालन हुँदै आएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २७ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार