
काठमाडौं ।
युरोपेली सङ्घ (ईयू) को भन्दा केही फरक बाटो अङ्गाल्दै बेलायतको दूरसञ्चार नियामक अफकमले माथिल्लो ६ गिगाहर्ज (गिगाहर्ज) ब्यान्डलाई वाइ–फाइ र मोबाइल नेटवर्क दुवैका लागि साझा रूपमा प्रयोग गर्ने योजना अघि बढाएको छ।
अफकमले यससम्बन्धी परामर्श प्रक्रिया सुरु गरिसकेको छ जसअनुसार स्पेक्ट्रमका फरक–फरक भागमा फरक प्रविधिलाई प्राथमिकता दिइनेछ। यसका लागि हस्तक्षेप (इन्टरफेरेन्स) हुन नदिन प्राविधिक सर्त र कडा नियन्त्रण लागू गरिने प्रस्ताव गरिएको छ।
टेलिकम्स डटकमका अनुसार अफकमले तल्लो ६ गिगाहर्ज ब्यान्डको प्रयोगसम्बन्धी नियमहरू पनि परिमार्जन गर्ने योजना बनाएको छ। हाल कम शक्तिको प्रयोगका लागि मात्र छुट्याइएको यो ब्यान्डमा अब उच्च शक्ति र बाहिरी प्रयोगलाई अनुमति दिने तयारी गरिएको छ। यसले स्टेडियम, रेल स्टेशन, विमानस्थल, अस्पताल, विश्वविद्यालयजस्ता स्थानमा उच्च क्षमताको वाइ–फाइ सेवा उपलब्ध गराउने बाटो खोल्नेछ।
तल्लो ६ गिगाहर्ज ब्यान्डका अन्य प्रयोगकर्तासँग हस्तक्षेप नहोस् भनेर अफकमले ‘अटोमेटेड फ्रिक्वेन्सी कोअर्डिनेसन’ (एएफसी) डाटाबेस प्रयोग गर्ने प्रस्ताव गरेको छ। यस प्रणालीमार्फत सो स्पेक्ट्रम प्रयोग गर्ने उपकरणहरू एकआपसमा समन्वय गर्न सक्नेछन्। यस विषयमा अफकमले छुट्टै परामर्श पनि सुरु गरेको छ।
“आजका घोषणाले बेलायतलाई हाम्रा सबैले निर्भर गर्ने रेडियो तरंगको अधिकतम उपयोग गर्ने युरोपकै अगुवा मुलुकका रूपमा पुनः स्थापित गर्छ,” स्पेक्ट्रमसम्बन्धी अफकमका समूह निर्देशक डेभिड विलिसले भने। उनका अनुसार, “माथिल्लो ६ गिगाहर्ज ब्यान्ड साझा गर्दा देशभरका व्यवसाय र घरधुरीले अझ राम्रो वाई–फाई र भविष्यका लागि तयार मोबाइल नेटवर्क पाउनेछन्। तल्लो ६ गिगाहर्ज सम्बन्धी हाम्रो निर्णयले बेलायतभर ब्रडब्यान्ड सेवामा सुधार ल्याउनेछ।”
यो निर्णय वाई–फाई उद्योगका लागि सकारात्मक मानिएको छ। गत नोभेम्बरमा ईयूको रेडियो स्पेक्ट्रम पोलिसी समूह (आरएसपीजी) ले माथिल्लो ६ गिगाहर्ज ब्यान्डका ७०० मेगाहर्जमध्ये ५४० मेगाहर्ज मोबाइल अपरेटरलाई प्राथमिकताका साथ दिने सिफारिस गरेपछि वाइ–फाइ उद्योग निराश भएको थियो।
तर यसले मोबाइल उद्योगलाई भने निराश बनाउने सम्भावना छ। अफकम ले माथिल्लो ६ गिगाहर्ज साझा प्रयोग गर्ने आफ्नो मनसायबारे पहिल्यैदेखि परामर्श र कार्यशाला आयोजना गर्दै आएको भए पनि केही अपरेटरले अन्तिममा ईयूको निर्णयसँग मिल्ने अपेक्षा गरेका थिए।
अफकमको यस दृष्टिकोणका केही फाइदा र केही जोखिम पनि छन्। सकारात्मक पक्ष भनेको वाई–फाई उद्योगले लाइसेन्स वा लिलामीको झन्झट बिना छिटो स्पेक्ट्रम प्रयोग गर्न सक्नु हो।
अन्य क्षेत्रहरूमा माथिल्लो ६ गिगाहर्ज वाइ–फाइका लागि प्रयोग हुन थालेकाले उपकरण निर्माता कम्पनीहरूले यससम्बन्धी उपकरण विकास गरिरहेका छन्। साथै, वाई–फाई नेटवर्क विस्तारका लागि ठूला पूर्वाधार वा अनुमति आवश्यक पर्दैन।
तर नकारात्मक पक्षमा, स्पेक्ट्रम बाँडफाँड गर्दा क्षमता पनि बाँडिन सक्छ, जसले यसको उपयोगिता सीमित बनाउन सक्छ। आवश्यक ‘गार्ड ब्यान्ड’ का कारण उपलब्ध स्पेक्ट्रम अझै घट्न सक्ने चिन्ता पनि छ।
तर अफकमले यस जोखिमलाई स्वीकार गर्न लायक ठानेको छ। “हाम्रा योजनाले आर्थिक वृद्धि र लगानीका लागि नयाँ अवसर खोल्नेछ, साथै भविष्यमा ६जीजस्ता महत्वपूर्ण नवप्रवर्तनलाई समर्थन गर्नेछ,” विलिसले भने। अफकम को परामर्श प्रक्रिया २० मार्चसम्म खुला रहनेछ, जस अवधिमा दुवै पक्षले आफ्ना तर्क प्रस्तुत गर्न सक्नेछन्।
प्रकाशित: २८ पुष २०८२, सोमबार