
काठमाडौं ।
चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग भूउपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। ‘फेङ्ग्युन–४–०३’ नामक भूउपग्रहलाई ‘लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो। प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ।
‘फेङ्ग्युन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन भूउपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पुर्याउँछ।
यस भूउपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ। यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। रासस/सिन्ह्वा
प्रकाशित: १३ पुष २०८२, आईतवार