टावर बन्यो, फोन लाग्दैन

  • Technology Khabar | ८ पुष २०८२, मंगलवार

काठमाडौं ।

जुम्लाको तातोपानी गाउँपालिका-५, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौं पैदल हिँड्न बाध्य छन्। उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ।

सो क्षेत्रमा सरकारले सञ्चार सुविधा पुऱ्याउने आश्वासन दिएको बसौं भइसके पनि आजसम्म समस्या समाधान भएको छैन। नेपाल टेलिकमले त्यस क्षेत्रको थलाले क्षेत्रमा टावर निर्माण गरे पनि इमिल्चामा नेटवर्क टिप्न नसक्दा नागरिकले सेवा पाउन सकेका छैनन्।

तातोपानी- -५ का वडाध्यक्ष नरबहादुर रावतका अनुसार दुई वर्षअघि टावर बने पनि यहाँका स्थानीयले सेवा उपभोग गर्न पाएका छैनन्।

उनले नेपाल टेलिकमलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नगरेको गुनासो गरे। उनले भने, “टावर राखियो तर नेटवर्क टिप्दैन, इमिल्चामा अर्को टावर आवश्यक छ। स्थानीयले धेरै पटक माग गरिसके पनि टेलिकमबाट कुनै प्रतिक्रिया आएको छैन।”

उनका अनुसार त्यस क्षेत्रका नागरिक पूर्ण रूपमा सञ्चार सुविधाविहीन छन्। त्यहाँ बिरामी पर्दा समस्या छ। विद्यार्थी बाहिर गएका छन्। सबैले सञ्चार सुविधाको अभावमा दैनिक जीवनमै कठिनाइ बेहोर्दै आएका छन्।

सञ्चार नहुँदा आपत विपतमा चिकित्सक वा सुरक्षा निकायसँग सम्पर्क गर्न नसक्ने अवस्थाले जनजीवन थप सङ्कटपूर्ण बनेको उनले बताए। यता नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराले सो विषयमा जानकारी नभएको बताए। आफू भर्खरै जुम्ला आएकाले यसको विस्तृत जानकारी लिएर समस्या समाधान गर्न लाग्ने उनले जनाए।

आजको गोरखापत्रबाट

प्रकाशित: ८ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार