Technology Khabar ७ पुष २०८२, सोमबार
काठमाडौं ।
क्यान महासंघको ३२ औँ वार्षिक साधारण सभा विवाद र तनावका बिच विना निष्कर्ष स्थगित भएको छ। सोमबार बिहान ९ बजे सुरु हुने भनिएपनि साधारण सभामा कोरम नपुग्दा सभाको शुरुवातनै ढिलो भएको थियो।
सभाले विधान संसोधनका विभिन्न विषयहरु पारित गर्ने योजना राखेको भएपनि चर्को विरोध र विवाद उत्पन्न भएसँगै विना निर्णय सभा स्थगित भएको छ।
महासंघ अध्यक्ष सुनैना पाण्डेको नेतृत्व र कार्यशैली माथि सदस्यहरूले चर्को विरोध गरेका सभामा उपस्थित सदस्यहरुले बताएका छन्। सदस्यहरूले उनको तत्काल राजीनामा माग गर्दै; यदि अध्यक्षले कार्यशैली सुधार नगरे, महासंघ भित्रको भ्रष्टाचार र विधान विपरीतका निर्णयको सामना अदालत मार्फत गरिने चेतावनी दिएका छन्।
उद्घाटन सत्रमा पूर्व अध्यक्ष सुरेश कर्ण तथा विनोद ढकालसमेत उपस्थित थिए। यस अवसरमा वैज्ञानिक शैलेन्द्र गिरी, ए.आइ. विज्ञ सुजन झा, र उत्कृष्ट जिल्ला तथा प्रदेशका क्यान शाखालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
साधारण सभामा, जिल्ला बाहिरबाट आएका प्रतिनिधिहरूले अध्यक्ष, पदाधिकारी र कार्यसमितिको पूर्ण असफलताको आरोप लगाउँदै तत्काल राजीनामा माग गरेको एक सदस्यले जानकारी दिए।
“७२ जिल्लामा शाखा विस्तार भए पनि नेतृत्वले कार्यशैली सुधार नगरे महासंघको इतिहास मेटिन सक्ने स्थिति आएको सदस्यहरुले चेतावनी दिए,” एक सदस्यले बताए।
एक पदाधिकारीका अनुसार अध्यक्ष पाण्डेको कार्यशैलीका कारण केहि पूर्व अध्यक्षहरू समेत कार्यक्रममा अनुपस्थित रहे।
स्मरण रहोस, केही महिना अघि पाण्डेले आफू विदेश भ्रमणमा जाँदा महासंघको विधान विपरीत कनिष्ठ उपाध्यक्षलाई कार्यवाहक बनाउने निर्णय गरेकी थिइन्।
त्यसले गर्दा महासंघभित्रको विभाद झनै चर्केको थियो। एक उपाध्यक्षले भने, “यसबीचमा, विधान संशोधन जबरजस्ती गराउने प्रयास र व्यक्तिगत स्वार्थले हालको असहज अवस्था सिर्जना गरेको हो।”
यस्तै अर्का सदस्यले आरोप लगाए महासंघमा चरम भ्रष्ट्राचार भएको आरोप लगाएका छन्। उनले महासंघको घरजग्गा कोषबाट ३३ लाख रुपैयाँ निकालेर अपचलन गरिएको आरोप समेत लगाए। उनले अध्यक्ष पाण्डे र निवर्तमान अध्यक्ष रणजित पोदारले यसको जिम्मेवारी लिनुपर्ने बताए। “भित्रभित्रै भएको भ्रष्टाचारलाई हामी यसै छोड्नेछैनौँ” उनले स्पष्ट पारे।
सदस्यहरूले साधारण सभामा पारदर्शिता नहुँदा, निर्णय प्रक्रियामा आम सदस्यको राय नलिनु, विदेश भ्रमणमा कार्यवाहक नियुक्ति, घरजग्गा कोषको दुरुपयोग जस्ता विषयलाई केन्द्रमा राखेर नेतृत्वको आलोचना गरेका छन्। “यदि सुधार र पारदर्शिता नल्याउने हो भने कानुनी प्रक्रिया मार्फत कदम चाल्न बाध्य हुनेछौं,” सदस्यहरूले चेतावनी दिए।
“निर्णय प्रक्रिया पूर्ण रूपमा कानूनी र विधानअनुसार भएको हो। विवाद भए पनि महासंघको प्रतिष्ठा कायम राख्ने पहल जारी भएको” सभामा अध्यक्ष पाण्डेको भनाई उदृत गर्दै अर्का एक सदस्यले भने।
क्यान महासंघमा यो विवाद केवल साधारण सभा र कोरम नपुगेको विषयमा सीमित नभई यसले नेतृत्वको निर्णय क्षमतामा प्रश्न उठाएको बताईएको छ।
यदि सुधार र पारदर्शिता ल्याइएन भने महासंघभित्रको भ्रष्टाचार र नेतृत्वको असक्षम निर्णयको सामना अदालतमार्फत गरिने सदस्यहरूले सार्वजनिकरुपमा चेतावनी दिएका छन्।
क्यानका एक सदस्य सुधिर विज्ञान सापकोटाले फेसबुकमा एक स्ट्याटसमार्फत क्यान महासंघको विधान विभेदकारी भएको र उपत्यका बाहिरका सदस्यहरुलाई दोस्रो दर्जामा राखिएको गंभिर आरोप लगाए।
उनले उपत्यका भित्रका सबै सदस्यहरुले भोट हाल्न पाउने तर उपत्यका बाहिरका ५० जना बराबर १ जनाले भोट हाल्न पाउने नीति विभेदपुर्ण भएको उल्लेख गरे।
उनले लेखेको स्ट्याटस यस्तो छ” Federation of Computer Association Nepal को बिधान बिभेदकारी छ : उपत्यका बाहिर रहेका सूचना प्रविधिका साथीहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको छ : उपत्यका भित्रका सबैले भोट हाल्न पाउने – उपत्यका बाहिरका ५० जना बराबर १ जनाले भोट हाल्न पाउने : यो नीति विभेद पुर्ण छ :
१०:१ को विभेद विरुद्ध म अध्यक्ष भएपछी १:१ समानता ल्याउछु भन्ने Nawaraj Kunwar ले जिल्लालाई ५०:१ गराएर अझै विभेद गरे : कुनैपनी जिल्लाको प्रतिनिधि भएर आएको एक ब्यक्तिले पनि Note Of Decent लेखेनन , सबैले ब्यक्तिगत स्वार्थ मात्रै हेरे : संथाको बिषयमा कसैले सोचेनन ![]()
आज साधारणसभामा जिल्लाको प्रतिनिधि Shekhar Dulal लाई ५०:१ गलत हो तपाईहरुले किन note of decent लेख्नु भएन भन्नेर सोधेपछि उनले भने : ठिकै छ ५०:१ हुदैन भने १०:१ गराम्ला : कति सतही र स्वार्थले भरिएको उत्तर दिए भने नि : संस्थामा लागेर यस्ता स्वार्थीले ब्यक्तिगत फाईदा भन्दा केही हेरेको रैनरैछन भन्ने ज्ञात भयो : संथाको पदमा रहेर ब्यक्तिगत स्वार्थ परिपुर्ति गर्नु बाहेक अरु केही गर्ने मनसाय नै रैन रैछ यस्ता जिल्लाका प्रतिनिधिहरुको ![]()
नेपालको संबिधानतह यो संस्था र यसका पदाधिकारीहरु पुर्ण रुपमा अबैधानिक छन जब सम्म सबैलाई समान अधिकार हुदैन तब सम्म यो संस्था अगाडि बड्न सक्दैन : संस्थामा राजनीतिले जरागाडेर थिलो थिलो भैसक्यो : हिजोको यत्रो ठूलो संस्था आज झोलामा बोक्ने दिन आउन लागिसक्यो :
जिल्लामा काम गर्ने सूचना प्रविधिका साथिहरु दोस्रो दर्जाका नागरिक होइनन :
छलफल र संघर्ष धेरै भए : जहिले जिल्लालाई विभेद भयो : अब यसको निराकरण भनेको कानुनी मात्रै हो : तसर्थ माघ २९ गते (दशमी )को दिन, क्यान महासंघको विभेदपुर्ण विधानको बिरुद्ध मुद्दा दर्ता गर्ने छु :
जिल्लाका साथिहरु ५०:१ र ३०-४० % को Weitage को कुरामा भ्रमित हुनुहुदोरैछ : केही कुरा नबुझेमा सिधा फोन गर्नु होला : मैले समानता र सबैलाई बराबर हकहितको कुरा गरेको हो”
यसैगरी संघका आजिवन सदस्यहरूले पनि सुधारको लागि चेतावनी दिएका छन्। उनीहरुले भनेका छन्, “सुधार नगरे महासंघको इतिहास मेटिने खतरा छ, र कानुनी प्रक्रिया अवलम्बन गर्न तयार रहनु पर्छ। महासंघको भविष्य, सदस्यको विश्वास र संस्थाको ऐतिहासिक योगदानको रक्षा अहिले तत्काल आवश्यक छ।”
टेक्नोलोजीखबरले पाएको एक भिडियो क्लिपमा पनि, साधारण सभामा अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष पोद्दार र महासचिव चन्द्र विलास भुर्तेलले सबैलाई शान्त हुन आग्रह गरिरहेको तर सदस्यहरुले चर्को विरोध गरिरहेको देखिन्छ।
यस्तै टेक्नोलोजीखबरले पाएको विधान संसोधनको प्रस्तावका तीन महले कागजातहरुकाअनुसार, कार्यसमिति पदाधिकारी समितिलाई संसोधन गर्ने तथा अनुशासन समिति गठनको विषय विधानमा राख्नेलगायतका महत्वपूर्ण प्रस्ताव रहेको छ भने भोटिङ्गका लागि सदस्यहरुको मतभारमासमेत व्यापक फेरबदल गरिएको छ। जसले विरोध चर्किएको देखिन्छ।

यस बारेमा एक सदस्यले विधान संसोधनको विषय अहिलेसम्म कतै छलफलनै नगरि एकैपटक साधारण सभामा प्रस्तुत गर्ने प्रयास गरिएको हुँदा सभामा भाँडभैलो भएको बताए।
“अहिलेसम्म कतै छलफल भएको मैले थाहा पाएको छैन्। अझ साधारण सभाले गंभिर र महत्वपूर्ण विषयमा हचुवाको भरमा विधान संसोधन गर्दैन्। यसको लागि सदस्यहरुबिच व्यापक छलफल गरेर संसोधनमा लागि विशेष साधारण सभा बोलाउनुपर्ने हो,” उनले भने।
यसैबीच क्यान महासंघले अर्को सूचना नभएका सम्मका लागि साधारण सभा स्थगित गरिएको औपचारिक जानकारी दिएको छ। महासंघले सार्वजनिक सूचनामार्फत गण पुरक संख्या नपुगेको हुँदा सभा स्थगित भएको जनाएको हो।
प्रकाशित: ७ पुष २०८२, सोमबार