भरतपुरका २०० बढी स्थानमा सिसी क्यामरा जडानको काम सुरु

Technology Khabar ७ पुष २०८२, सोमबार

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामरा जडानको काम सुरु
फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामरा जडानको काम सुरु गरेको छ। महानगरका २०० भन्दा बढी स्थानमा क्यामरा जडानको काम सुरु गरिएको हो।

महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गरिन्। महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामरा जडानको काम सुरु गरिएको छ। नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामरा जडानको काम सुरु गरिएको छ।

महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ ओटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामरा जडान गर्न लागिएको छ। चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ। सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामरा जडानको काम गर्दैछ।

उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामरा जडानको काम सुरु गरिएको बताइन्। सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उनको भनाइ रहेको छ। “सिसी क्यामरा जडानसँगै सुरक्षित सहरको सपना साकार भएको छ” उनले बताइन्।

महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उनले बताइन्। एकानब्बे ओटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ। यस्तै महानगरका ६ ओटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उनले जानकारी दिइन्। ती सबै क्यामराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ।

सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामरा जडान गरेको बताए। यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उनको भनाइ छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामराको संरक्षण गर्न आवश्यक रहेको बताए।

नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामरा सञ्चालन गरिने छ। महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो। नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताए।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताए। रासस

प्रकाशित: ७ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया