Technology Khabar ६ पुष २०८२, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाएको बताएका छन्।
नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको शनिबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री खरेलले देशमा मोबाइल व्यवसायमा लाखौँ युवा आबद्ध भएको र लाखौँ युवालाई देशमै रोजगारी सिर्जना गरेको मोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन्।
सञ्चारमन्त्री खरेलले एमडिएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको भन्दै जालो च्यातेरै छाड्ने विश्वास व्यक्त गरे। मुलुकले परिवर्तन मागेको बताउँदै उनले दिनहुँ दुई हजारभन्दा बढी युवा विदेश गइरहेको अवस्थालाई सबै मिलेर रोक्नुपर्ने विचार व्यक्त गरे। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रणका साथै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने वातावरणका लागि काम गरिरहेको जानकारी दिए।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले एमडिएमएस प्रणालीले अलमलमा पारेको भन्दै सो प्रणाली लागू गर्न अथवा खारेज गर्न माग गरे। उनले बजारमा आएका मोबाइल तथा एसेसरिजको गुणस्तर पनि परीक्षण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: ६ पुष २०८२, आईतवार