अक्टोबरमा सरकारी प्रणाली ह्याक भएको थियो: बेलायती व्यापार विभाग मन्त्री

Technology Khabar ४ पुष २०८२, शुक्रबार

अक्टोबरमा सरकारी प्रणाली ह्याक भएको थियो: बेलायती व्यापार विभाग मन्त्री
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

ब्रिटेनका व्यापार विभागका मन्त्री क्रिस ब्रायन्टले अक्टोबरमा सरकारको प्रणाली ह्याक भएको बताएका छन्। यसले चिनियाँ समूहले परराष्ट्र मन्त्रालयको डाटामा पहुँच पाएको भन्ने सन पत्रिकाको रिपोर्टलाई आंशिक रूपमा पुष्टि गरेको छ। “निश्चय नै ह्याक भएको छ,” ब्रायन्टले शुक्रबार टाइम्स रेडियोलाई भने। तर उनले यो घटना सिधै चिनियाँ अपरेटर वा चिनियाँ राज्यसँग सम्बन्धित हो कि होइन भन्नेबारे आफूले भन्न नसक्ने बताए।

रोयटर्सका अनुसार सन पत्रिकाले यो ह्याकको जिम्मा चिनियाँ साइबर समूह ‘स्टर्म १८४९’ लाई दिएको छ। रिपोर्टअनुसार यस घटनामा सम्भवतः दशौं हजार भिसासम्बन्धी विवरणहरू समावेश हुन सक्ने बुझिएको छ। ब्रायन्टले यस घटनासम्बन्धी रिपोर्टिङलाई “अड्कलबाजी” भनेका छन् र सरकारले अझै अनुसन्धान गरिरहेको बताए। तर हालको अवस्थामा कुनै पनि व्यक्तिमा असर पर्ने जोखिम कम रहेकोमा सरकार “काफी विश्वस्त” रहेको उनले भने।

“हामीले त्यो कमजोरी छिट्टै बन्द गर्न सफल भयौं,” ब्रायन्टले स्काइ न्युजलाई भने। उनले यसलाई “हाम्रो एक साइटमा भएको प्राविधिक समस्या” भनेर वर्णन गरे।

सन पत्रिकाका अनुसार स्टर्म १८४९ चीनसँग जोडिएको समूह हो, जुन राज्यसँग नजिक रहेको ह्याकिङ संरचनाको हिस्सा मानिन्छ। यस समूहले चिनियाँ सरकारको आलोचना गर्ने राजनीतिज्ञ र समूहहरूलाई निशाना बनाएको आरोप लाग्दै आएको छ।

ब्रिटेनका प्रधानमन्त्री केयर स्टार्मरले यसअघि डिसेम्बरमा चीनले बेलायतका लागि “राष्ट्रिय सुरक्षा खतरा” पैदा गरेको बताएका थिए। तर उनले चीनसँगको संलग्नता बढाउने सरकारको निर्णयको बचाउ पनि गरेका छन्। स्रोतहरूका अनुसार स्टार्मर जनवरीको अन्त्यतिर बेइजिङ भ्रमणमा जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालयमा भएको यो घटना यस वर्ष बेलायतका ठूला कम्पनीहरूमा भएका दुई ठूला साइबर आक्रमणपछि आएको हो।

ह्याकका कारण देशको सबैभन्दा ठूलो कार निर्माता जगुआर ल्यान्ड रोभरले पाँच हप्तासम्म उत्पादन बन्द गर्नुपरेको थियो। त्यस्तै, खुद्रा विक्रेता मार्क्स एन्ड स्पेन्सरले छ हप्तासम्म अनलाइन अर्डर स्थगित गरेको थियो। घटनाबारे थप विवरण सोध्दा परराष्ट्र मन्त्रालयले साइबर घटनाको अनुसन्धान भइरहेको जनाएको छ। “हामी हाम्रो प्रणाली र डाटाको सुरक्षालाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छौं,” एक सरकारी प्रवक्ताले भने।

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया