हाइपरस्केल क्लाउड र एआईको निरन्तर माग बढ्नाले डाटा सेन्टर उपकरणको आपूर्ति उल्लेख्य बढ्यो: अध्ययन

Technology Khabar ६ पुष २०८२, आईतवार

हाइपरस्केल क्लाउड र एआईको निरन्तर माग बढ्नाले डाटा सेन्टर उपकरणको आपूर्ति उल्लेख्य बढ्यो: अध्ययन
च्याटजीपीटी मार्फत् निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

हाइपरस्केल क्लाउड र एआईको निरन्तर बलियो मागका कारण डाटा सेन्टर उपकरण आपूर्तिकर्ताका लागि तेस्रो त्रैमासिक निकै राम्रो रह्यो। डेल’ओरोको नयाँ तथ्यांकअनुसार तेस्रो त्रैमासिकमा विश्वव्यापी डाटा सेन्टर सर्भर र स्टोरेज क्षेत्रको आम्दानी वार्षिक आधारमा ४० प्रतिशतले बढेको छ।

एआई एक्सेलेरेटरको बढ्दो मागले उच्च ब्यान्डविथ मेमोरी (एचबीएम), ब्याक–एन्ड नेटवर्क इन्टरफेस कार्ड (एनआईसी) र डाटा स्टोरेज ड्राइभजस्ता सम्बन्धित कम्पोनेन्टमा पनि सकारात्मक प्रभाव पारेको हो।

टेलिकम्स डट कमका अनुसार डेल’ओरोका वरिष्ठ अनुसन्धान निर्देशक बारोन फङका अनुसार यो त्रैमासिकको वृद्धि अमेरिकी हाइपरस्केल र नयाँ क्लाउड प्रदायकहरूमा एनभिडियाको ब्ल्याकवेल अल्ट्रा एक्सेलेरेटरको तीव्र विस्तारका कारण सम्भव भएको हो। उनका अनुसार गुगल र अमेजनजस्ता हाइपरस्केल ग्राहकबाट कस्टम एक्सेलेरेटरको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ, जुन आधारभूत एआई मोडलको प्रशिक्षण र इन्फरेन्स आवश्यकतासँगै एन्थ्रोपिक र मेटाजस्ता ग्राहकसँग भएका ठूला क्लाउड सम्झौताका कारण भएको हो।

एआईसँग सम्बन्धित सबै प्रविधिप्रतिको तीव्र आकर्षणले सार्वजनिक क्लाउडको माग पनि बढाइरहेको छ। फङका अनुसार हाइपरस्केलरहरूबाट सामान्य प्रयोजनका सर्भर र स्टोरेजको माग बलियो नै रहेको छ, जसले एआई पूर्वाधारलाई समर्थन गर्न क्लाउड क्षमता विस्तार गर्ने क्रममा सीपीयू, एनआईसी र स्टोरेज ड्राइभको आपूर्तिलाई टेवा दिएको छ।

डेल’ओरोका अनुसार यस विस्तार भइरहेको बजारमा एनभिडिया सबैभन्दा ठूलो खेलाडी बनेको छ भने त्यसपछि एसके हाइनिक्स र सामसुङ छन्। एनभिडियाको प्रदर्शन ब्ल्याकवेल अल्ट्रा एक्सेलेरेटरको विस्तारका कारण भएको हो भने एसके हाइनिक्स र सामसुङले एचबीएमको माग र डीआरएएम तथा एसएसडीको बढ्दो मूल्यका कारण वृद्धि दर्ता गरेका छन्।

फङका अनुसार उद्यम बजार पछिल्लो सर्भर रिफ्रेस चक्रपछि केही सुस्त हुँदै गएको देखिए पनि यसले समग्र बजारलाई ठूलो असर पार्ने सम्भावना कम छ। सन् २०२५ भरिका लागि डेल’ओरोले सर्भर र स्टोरेज कम्पोनेन्टबाट हुने आम्दानी ४८ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ। साथै सन् २०२६ मा एनभिडिया, एएमडी, गुगल र अमेजनका नयाँ उत्पादनहरूले थप वृद्धि ल्याउने अनुमान गरिएको छ।

एआई बबलको विषयमा देखिएको पछिल्लो चिन्ता पनि अहिले केही कम भएको देखिन्छ र एआईसँग सम्बन्धित डाटा सेन्टर घोषणाहरू पुनः नियमित रूपमा आउन थालेका छन्।

यसै साता ऊर्जा पूर्वाधार प्रदायक हट ८ ले डाटा सेन्टर निर्माता फ्लुइडस्ट्याक र एन्थ्रोपिकसँग कम्तीमा २४५ मेगावाट क्षमताको विद्युत् आपूर्ति विकास र वितरणका लागि सम्झौता गरेको छ। यो क्षमता भविष्यमा बढेर २,२९५ मेगावाटसम्म पुग्न सक्ने बताइएको छ। पहिलो चरणको २४५ मेगावाट क्षमता सन् २०२७ को सुरुतिर सञ्चालनमा आउने अपेक्षा गरिएको टेलिकम्स डटकम उल्लेख गर्दछ।

यो परियोजना नोभेम्बरमा एन्थ्रोपिकले अमेरिकाभर थप एआई डाटा सेन्टर निर्माण गर्न ५० अर्ब अमेरिकी डलर खर्च गर्ने योजनासँग सम्बन्धित हो वा होइन भन्ने स्पष्ट छैन।

यसै साता क्यानडाको टेलिकम कम्पनी बेलले क्युबेकस्थित क्विन्स युनिभर्सिटीका लागि एआई डाटा सेन्टरको डिजाइन, निर्माण र सञ्चालन गर्ने सहमति जनाएको छ। यो कदम अमेरिकी प्रविधिमा निर्भरता घटाउने क्यानडाको प्रयासको हिस्सा मानिएको छ।

उता, अत्यधिक लगानी, ठूलो मात्रामा बिजुली र पानी खपत गरेर आफ्नै च्याटबोट चलाउने विषयमा अझै सन्देह गर्नेहरू फ्रान्समा एचपीई र एनभिडियाको नयाँ एआई फ्याक्ट्री ल्याबमा गएर एआई फ्याक्ट्री वास्तवमै आवश्यक छ कि छैन भन्ने अनुभव गर्न सक्नेछन्।

एआईलाई बढी प्रचार गरिएको भन्दै चेतावनी दिने आवाजहरू अझै छन्। तर अर्बौं डलर लगानी गर्न तयार ठूला लगानीकर्ताहरू रहेसम्म ती आवाजहरू सर्भरका लाम, लाम पंक्तिबाट आउने आवाजमा हराउने देखिन्छ।

प्रकाशित: ६ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया