
काठमाडौं ।
हेलो सरकारमा प्रहरी कार्यालय, विद्युत् प्राधिकरण, सूचना प्रविधि विभागलगायत जनताले प्रत्यक्ष सेवा लिने १० निकायमा सबैभन्दा बढी गुनासो आउने गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमातहत रहेको हेलो सरकारमा जनताले हेलो सरकार पोर्टल, हेलो सरकार नम्बरलगायत ११ माध्यमबाट गुनासो टिपाउने गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले २०७६ साउन १ गतेदेखि गत मङ्सिर मसान्तसम्म कुल ७६ हजार २७८ वटा गुनासो आएकोमा ५० हजार ३०६ वटा फर्स्योट भएको जानकारी दिए।
अरू २५ हजार ९७२ गुनासामध्ये नौ हजार ७२० वटा गुनासो समाधान हुने प्रक्रियामा गएको, चार हजार ६२५ गुनासो सम्बन्धित निकायले नहेरेको र कतिपय समाधान नहुने अवस्थामा रहेको उनले बताए।
“जेनजी आन्दोलनअघि प्रहरी र विद्युत् प्राधिकरण, सूचना प्रविधि विभाग, सडक विभागसँग सम्बन्धित उजुरी बढी नै हुन्थे,” उनले भने, “तर जेनजी आन्दोलनपछि प्रहरीसँग सम्बन्धित शान्ति सुरक्षा, चोरी, हत्या, हिंसा, ठगीलगायतका घटना भएका गुनासो बढी आउने गरेका छन्। विद्युत्सँग सम्बन्धित लाइन गएको, ट्रान्सफर्मर बिग्रेको, योजनाको काम अलपत्र पारेको, पोल ढलेकोलगायतका गुनासो बढी आएका छन्।”
अरू १० निकायमा जनताले सास्ती पाएका गुनासा हेलो सरकारमार्फत टिपाउने गरेको प्रवक्ता अर्यालले बताए। “हामीले गुनासो टिपाउन फोन नम्बरसहित भौतिक रूपमा उपस्थित भई गुनासो टिपाउने व्यवस्था गरेका छौं,” उनले भने, “अरू डिजिटल प्रविधि हेलो सरकार पोर्टल, नागरिक एप, इमेल, ह्वाटसप एक्स, फेसबुक, साइबरलगायत ११ निकायबाट ‘गुनासा टिपाउने व्यवस्था छ।” उनले सेवाग्राहीबाट गुनासा आएलगत्तै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने गरिएको बताए।
बढी गुनासो आउने निकाय
सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित आठ हजार २१९ गुनासो, नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित तीन हजार ३४७ गुनासो, राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित तीन हजार १२० गुनासो, सडक विभागसँग सम्बन्धित एक हजार ९७६ गुनासो रहेको प्रवक्ता अर्यालले जानकारी दिए।
यस्तै गृह मन्त्रालयसँग सम्बन्धित एक हजार ९६० गुनासो, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक हजार ७११ गुनासो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित एक हजार ५७५ गुनासो, काठमाडौँ महानगरसँग सम्बन्धित एक हजार ४८१ गुनासो, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित एक हजार २२५ गुनासो र यातायात व्यवस्था विभागसँग सम्बन्धित एक हजार १९२ गुनासो रहेको हेलो सरकार शाखाले जनाएको छ।
आजको गोरखापत्र
प्रकाशित: ४ पुष २०८२, शुक्रबार