Technology Khabar ३ पुष २०८२, बिहीबार
काठमाडौं ।
वार्नर ब्रदर्स डिस्कभरी (डब्लूबीडी) को बोर्डले बुधबार प्यारामाउन्ट–स्काइडान्सले ल्याएको १०८.४ अर्ब डलरको शत्रुतापूर्ण अधिग्रहण प्रस्ताव अस्वीकार गरेको छ। बोर्डले उक्त प्रस्तावलाई ‘भ्रमपूर्ण’ भन्दै वित्तीय स्रोतबारे सेयरधनीलाई गलत जानकारी दिइएको आरोप लगाएको छ।
वार्नर ब्रदर्सलाई आफ्नो अधीनमा लिन प्यारामाउन्ट र नेटफ्लिक्सबीच प्रतिस्पर्धा चलिरहेको थियो। यसअन्तर्गत वार्नर ब्रदर्ससँग उसका चर्चित फिल्म तथा टेलिभिजन स्टुडियो, एचबीओ म्याक्स स्ट्रिमिङ सेवा र ‘ह्यारी पोटर’ जस्ता फ्रेन्चाइजहरू पनि जोडिएका छन्। वार्नर ब्रदर्सले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरेपछि त्यसलाई उछिन्न प्यारामाउन्टले शत्रुतापूर्ण प्रस्ताव ल्याएको थियो।
बुधबार सेयरधनीलाई पठाइएको पत्रमा वार्नर ब्रदर्स बोर्डले प्यारामाउन्टले प्रति सेयर ३० डलरको नगद प्रस्ताव एलिसन परिवारले पूर्ण रूपमा सुनिश्चित गरेको दावी गर्दै आएको तर त्यो सत्य नभएको उल्लेख गरेको छ। एलिसन परिवारको नेतृत्व अर्बपति तथा ओरेकलका सह–संस्थापक ल्यारी एलिसनले गरिरहेका छन्। बोर्डका अनुसार उक्त प्रस्ताव कहिल्यै पनि पूर्ण रूपमा सुनिश्चित गरिएको थिएन र यसले धेरै गम्भीर जोखिमहरू बोकेको छ।
रोयटर्सका अनुसार बोर्डले प्यारामाउन्टको प्रस्ताव नेटफ्लिक्ससँग भएको मर्जर सम्झौताभन्दा कमजोर रहेको बताएको छ। नेटफ्लिक्सले वार्नर ब्रदर्सको युनिटका लागि प्रति सेयर २७.७५ डलर बराबरको नगद तथा सेयर मिश्रित प्रस्ताव दिएको छ, जुन बाध्यकारी सम्झौता हो। यसका लागि इक्विटी फाइनान्सिङ आवश्यक नपर्ने र ऋणसम्बन्धी प्रतिबद्धता बलियो रहेको बोर्डले जनाएको छ।
प्यारामाउन्टको प्रस्ताव भने सम्झौता सम्पन्न हुनुअघि जुनसुकै बेला संशोधन वा रद्द हुन सक्ने भएकाले यसलाई बाध्यकारी मर्जर सम्झौतासँग तुलना गर्न नमिल्ने बोर्डको भनाइ छ।
वार्नर ब्रदर्सले सेयरधनी मतदानको मिति अझै तोकेको छैन। तर यो प्रक्रिया वसन्त ऋतु वा प्रारम्भिक गर्मीमा हुने अपेक्षा गरिएको अध्यक्ष स्यामुएल डी पियाज्जाले सीएनबीसीसँगको अन्तर्वार्तामा बताएका छन्। एलिसन परिवारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्धका कारण नियामकीय प्रक्रिया सहज हुने दावी गर्दै आएको छ।
यसैबीच प्यारामाउन्टले आफ्नो प्रस्ताव उत्कृष्ट रहेको प्रतिक्रिया दिएको छ। वार्नर ब्रदर्सले ‘अस्पष्टताको बादल’ पछाडि लुकेको आरोप लगाउँदै उसले आफ्नो सम्पूर्ण नगद प्रस्ताव बजार उतारचढावको जोखिमबाट बढी सुरक्षित रहेको बताएको छ। नेटफ्लिक्सको नगद–सेयर प्रस्ताव उसको सेयर मूल्य घटेपछि कमजोर बनेको प्यारामाउन्टको दावी छ।
“हाम्रो प्रस्तावले डब्लूबीडीका सेयरधनीलाई बढी मूल्य र सुनिश्चितता दिन्छ, सम्झौता सम्पन्न हुने स्पष्ट बाटो देखाउँछ र अत्यधिक ऋण बोकेको सानो स्तरको लिनेयर व्यवसायमा उनीहरूलाई छोड्दैन,” प्यारामाउन्टका प्रमुख कार्यकारी अधिकृत डेभिड एलिसनले बताएका छन्।
प्रकाशित: ३ पुष २०८२, बिहीबार