स्पेसएक्सले अर्को वर्ष आईपीओ जारी गर्ने

Technology Khabar २५ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

स्पेसएक्सले २०२६ को मध्य वा अन्त्यतिर सार्वजनिक रूपमा शेयर बिक्री (आईपीओ) गर्ने योजना बनाइरहेको छ र करिब १.५ ट्रिलियन डलर मूल्यांकनका आधारमा ३० अर्ब डलर जुटाउने लक्ष्य रहेको ब्लूमबर्गले अज्ञात स्रोतहरू उद्धृत गर्दै जनाएको छ।

टेकक्रञ्चका अनुसार यदि यस्तो भएमा यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुनेछ। यसले २०१९ मा २९ अर्ब डलर उठाएको साउदी अराम्कोको सार्वजनिक सूचीकरणलाई पनि पार गर्नेछ।

यो योजना स्पेसएक्सको अघिल्लो धारणा—स्टारलिङ्कलाई मात्र अलग गरेर सार्वजनिक गर्ने र मुख्य कम्पनीलाई निजी राख्ने—भन्दा केही फरक देखिन्छ।

यसअघि द इन्फर्मेशनले पनि स्पेसएक्स २०२६ अन्त्यतिर आईपीओ लक्ष्य गरिरहेको पहिलोपटक रिपोर्ट गरेको थियो।

त्यसकै बीच द वाल स्ट्रीट जर्नलले हालै स्पेसएक्सले कर्मचारीका लागि दोस्रो चरणको सेकेन्डरी शेयर बिक्रीको तयारी गरिरहेको खबर सार्वजनिक गरेको थियो, जसले कम्पनीको हालको मूल्यांकन करिब ८०० अर्ब डलर हुने संकेत दिएको थियो।

ब्लूमबर्गका अनुसार यो शेयर बिक्रीलाई हालै “अन्तिम रूप” दिइएको छ र मूल्यांकन ८०० अर्ब डलरभन्दा बढी छ। यस योजनामा कर्मचारीहरूले ४२० डलर प्रतिशेयरदरमा करिब २ अर्ब डलर बराबरका शेयर बेच्न पाउने व्यवस्था छ।

प्रकाशित: २५ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया