Technology Khabar २४ मंसिर २०८२, बुधबार
काठमाडौं ।
प्यारामाउन्ट स्काइडान्सले सोमबार १०८.४ अर्ब डलरको प्रस्ताव राख्दै वार्नर ब्रदर्स डिस्कभरी (डब्लूबीडी) किन्न प्रयास गरेको छ। यो कदम वार्नरले केही दिनअघि नै नेटफ्लिक्सद्वारा ८२.७ अर्ब डलरमा अधिग्रहण हुन सहमति जनाएपछि आएको हो।
प्यारामाउन्टले प्रत्यक्ष रूपमा डब्लूबीडीका सेयरधारकलाई प्रति सेयर ३० डलरको नगद प्रस्ताव गरेको छ। यसले नेटफ्लिक्सको डिलभन्दा १८ अर्ब डलर बढी नगद फाइदा सेयरधारकलाई दिने दाबी गरिएको छ। नेटफ्लिक्सले प्रति सेयर २३.२५ डलर नगद र ४.५० डलर नेटफ्लिक्स सेयरसहित कुल २७.७५ डलरको प्रस्ताव गरेको थियो।
टेकक्रञ्चका अनुसार प्यारामाउन्टले डब्लूबीडीको सबै कारोबार किन्न खोजिरहेको छ भने नेटफ्लिक्सको सम्झौतामा कम्पनीका हलिउड स्टुडियो र स्ट्रिमिङ व्यवसाय मात्र समेटिएको छ। सीएनबीसीका अनुसार प्यारामाउन्टले राखेका यिनै प्रस्तावहरूलाई डब्लूबीडीको बोर्डले एक साता अघि अस्वीकार गरेको थियो।
“डब्लूबीडी बोर्ड एउटा कमजोर प्रस्तावतर्फ लागिरहेको हाम्रो ठम्याई छ, जसले सेयरधनीलाई नगद र सेयरको मिश्रण, ग्लोबल नेटवर्क्सको भविष्य मूल्यमा अनिश्चितता र कठिन नियामक स्वीकृतिको जोखिममा पार्छ,” प्यारामाउन्टका सीईओ डेभिड एलिसनले भने।
प्यारामाउन्टको प्रस्ताव एलिसन परिवार र रेडबर्ड क्यापिटलको इक्विटी फाइनान्सिङ तथा बैंक अफ अमेरिका, सिटी र अपोलोबाट ५४ अर्ब डलरको ऋण प्रतिबद्धताबाट समर्थित छ।
शुक्रबार प्यारामाउन्ट र कोमकास्टसँगको प्रतिस्पर्धामा नेटफ्लिक्स विजयी भएको थियो तर प्यारामाउन्टको आक्रामक प्रस्तावले हलिउडका चर्चित स्टुडियोमध्ये एकलाई लिएर सुरु भएको महिनौँ लामो संघर्ष अझै लम्बिन सक्ने देखिएको छ।
नेटफ्लिक्सको प्रस्तावित सम्झौताले दुई प्रमुख स्ट्रिमिङ प्लेटफर्मलाई एकसाथ ल्याउने भएकाले एन्टिट्रस्टबारे प्रश्न उठिसकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संयुक्त कम्पनीको बजार हिस्सालाई लिएर यो “समस्या हुन सक्छ” भनेका छन्।
डब्लूबीडी र प्यारामाउन्टबीचको सम्भावित सम्झौताले पनि त्यस्तै चिन्ता उठाउने अनुमान गरिएको छ। यदि नेटफ्लिक्स–डब्लूबीडी सम्झौता असफल भयो भने नेटफ्लिक्सले डब्लूबीडीलाई ५.८ अर्ब डलर तिर्नुपर्छ। उल्टो डब्लूबीडीले सम्झौता रद्द गर्ने निर्णय गरे २.८ अर्ब डलर नेटफ्लिक्सलाई बुझाउनुपर्ने हुन्छ। नेटफ्लिक्सले यसबारे टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएको छैन।
प्रकाशित: २४ मंसिर २०८२, बुधबार