
काठमाडौं ।
एक्सका हेड अफ प्रोडक्ट निकिता बियरले सामाजिक सञ्जाल कम्पनीलाई यूरोपेली आयोगले करिब १४० मिलियन डलर बराबरको १२० मिलियन यूरो जरिवाना लगाएपछि यसै सप्ताहान्तमा प्रतिवाद गरेकी छिन्।
युरोपेली संघको डिजिटल सर्भिसेज एक्ट अन्तर्गत पहिलो कारबाहीमा आयोगले एक्सको निलो चिन्ह (ब्लू चेकमार्क) प्रणाली “भ्रामक” भएको आरोप लगाएको थियो र यो भुक्तानी लिएर हुने भेरिफिकेशनले प्रयोगकर्तालाई नक्कली पहिचान र ठगीको जोखिममा पार्ने जनाएको थियो। आयोगले एक्सको विज्ञापन अभिलेख पनि पारदर्शिता तथा पहुँचसम्बन्धी डीएसएका मापदण्ड पूरा नगरेको बतायो।
आयोगका अनुसार एक्सले निलो चिन्हबारेका चिन्तामा ६० दिनभित्र र विज्ञापन पारदर्शितासम्बन्धी उल्लङ्घनमा ९० दिनभित्र जवाफ दिनुपर्नेछ नभए थप कारबाही हुन सक्छ। जरिवाना घोषणा भएपछि एक्सका मालिक एलन मस्कले यसलाई “बकवास” भन्दै, “युरोपेली संघ कहिले समाप्त हुन्छ? अबोलिसदईयू” लेखेका थिए।
यसपछि एक्सले प्लेटफर्ममा आयोगको अकाउन्टमाथि कारबाही गरेको छ। कम्पनीका अनुसार यो जरिवानाका कारण नभई आयोगले एक्सको विज्ञापन प्रणाली प्रयोग गरेका कारण हो।
टेकक्रन्चका अनुसार आयोगले जरिवाना घोषणा गरेको पोस्टलाई उद्धृत गर्दै एक्सका बियरले आयोगमाथि “निष्क्रिय विज्ञापन अकाउन्ट प्रयोग गरेर एड कम्पोजरमा रहेको कमजोर पक्षको फाइदा उठाई भिडियो जस्तै देखिने लिंक पोस्ट गर्ने र त्यसको पहुँच कृत्रिम रूपमा बढाउने” आरोप लगाए।
बियरले भने, “सबैलाई प्लेटफर्ममा समान आवाज हुनुपर्छ भन्ने एक्सको विश्वास छ। तर तपाईंहरू आफ्नै अकाउन्टमा नियम लागू नहुने सोच राख्नुभएको देखिन्छ।”
उनका अनुसार आयोगको विज्ञापन अकाउन्ट “समाप्त” गरिएको छ। बियरले उक्त कमजोर पक्ष “यसरी कहिल्यै दुरुपयोग नभएको” र अहिले समाधान गरिएको पनि बताए।
युरोपेली आयोगका प्रवक्ताले आयोगले “सधैं सामाजिक सञ्जाललाई राम्रै विश्वासका साथ प्रयोग गर्ने” बताए।
उनले भने, “आयोगले प्लेटफर्मले आफ्ना आधिकारिक अकाउन्टका लागि उपलब्ध गराएका उपकरणहरू मात्र प्रयोग गर्छ — एक्स मा पनि ‘पोस्ट कम्पोजर’ उपकरण यिनैमध्ये एक थियो। यी उपकरणहरू प्लेटफर्मका आफ्नै नियम तथा हाम्रो कानुनी संरचनासँग मेल खाने अपेक्षा हुन्छ।” प्रवक्ताले आयोगले अक्टोबर २०२३ देखि एक्स मा भुक्तानी विज्ञापन निलम्बन गरेको र त्यो निलम्बन अहिले पनि जारी रहेको बताए।
प्रकाशित: २२ मंसिर २०८२, सोमबार