Technology Khabar १२ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
आधुनिक र प्रगतिशील क्याम्पस आईआईएमएस २.० को उद्घाटन गरिएको छ। प्राध्यापक बेरी विनले रिबन काटेर विधिवत् रुपमा आईआईएमएस २.० को उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईआईएमएस ग्रुपका मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले भने, “आईआईएमएस २.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता हो। हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौँ जहाँ विद्यार्थीहरूले विदेश नजानै विश्व–स्तरीय शिक्षा प्राप्त गर्न सक्छन्।”
टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक बेरीले भने, “आज अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण कोसेढुङ्गा स्थापित भएको दिन हो। टेलर्स युनिभर्सिटीमा हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वास गर्छौं। आईआईएमएस सँगको यो सहकार्यले नेपालका भावी विश्व– नागरिकहरूलाई सशक्त बनाउन हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ।”
आईआईएमएस २.० उद्घाटन कार्यक्रममा प्राध्यापक. बेरी विन, भाइस–च्यान्सलर र प्रेसिडेण्ट, टेलर्स युनिभर्सिटी, मलेशिया, मिस एनजी (एन्जी) सक पिङ, प्राध्यापक भाइस–च्यान्सलर, प्लानिङ एण्ड एकेडेमिक डिभलपमेण्ट, प्राध्यापक निथ्यानाथन अरि राघभन र प्राध्यापक चोङ सियोङ चोय अतिथिहरूको रुपमा उपस्थित जनाएका थिए।
उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी, मलेशियाका वरिष्ठ नेतृत्व टोली तथा शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरू, उद्योग प्रतिनिधि, विद्यार्थी तथा राष्ट्रिय सञ्चारमाध्यमको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूलाई सांस्कृतिक रुपमा लाखे नाच देखाई स्वागत गरिएको थियो। नयाँ क्याम्पसको औपचारिक रिबन–कटिङ तथा सुविधाहरूको उद्घाटनसँग अघि बढेको कार्यक्रममा अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी– केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरे।
आईआईएमएस २.० को उद्घाटनसँगै काठमाडौंको भगवतीबहालस्थित रहेको आईआईएमएस कलेजले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ।
अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको बताइएको छ।
सन २०१० मा स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका स्नातक कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको उल्लेख गरिएको छ।
त्यसैगरी टेलर्स युनिभर्सिटी दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक र क्युएस वर्ल्ड युनिभर्सिटी र्याकिङ (विश्व विश्वविद्यालय वरीयता) मा २५३औं स्थानमा रहेको तथा विश्वका शीर्ष एक प्रतिशत विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो।
आईआईएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको बताइएको छ।
आईआईएमएस २.० को शुभारम्भले नेपालमा उच्च शिक्षाको नयाँ अध्यायको सुरुवात गरेको छ। स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, अत्याधुनिक प्रयोगशाला, नवप्रवर्तन केन्द्र, आतिथ्य प्रशिक्षण सुविधा, विद्यार्थी सहकार्य क्षेत्र, रूफटप लर्निङ टेरस, साथै टेलर्स क्याफे र अरन्या बुटिक होटल जस्ता अनुभूति–आधारित सिकाइ क्षेत्रसमेत समावेश आधुनिक क्याम्पसमार्फत आईआईएमएस दक्षिण एसियामा अन्तर्राष्ट्रिय शिक्षाको अग्रणी केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेको संस्थाको दावी छ।

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार