Technology Khabar १२ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ। दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ। अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन्।
भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरिएको बताउँदै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। “छिमेकी जिल्ला प्रहरी कार्यालयको जमिनमा सडकतर्फ फर्काएर शौचालय बनाइएको छ। दुवैको काम अन्तिम चरणमा पुगेको छ। रु एक करोडको लागतमा यी दुई आधुनिक स्मार्ट शौचालय बनाइएको हो”, उनले भने।
आचार्यका अनुसार महानगरपालिका नजिक बन्दै गरेको शौचालय थारू संस्कृति झल्कने खालको छ भने प्रहरी कार्यालय नजिकको आधुनिक स्वरुपको रहेको छ। भित्री भागमा दुवैमा एउटै खालको सुविधा छ। उनले अपाङ्गमैत्री यी दुवै शौचालयमा महिलाका लागि स्तनपान कक्ष, डाइपर तथा सेनिटरी प्याड परिवर्तनका लागि सुविधा उपलब्ध हुने जानकारी दिए। यससँगै धारामा सेन्सर जडान गरिएको छ। दुवै शौचालयमा महिला र पुरुषका लागि नुहाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ।
यसअघि महानगरपालिकाले भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारीमा आधुनिक सार्वजनिक शौचालय बनाएको थियो। ती शौचालय रु ७० लाख खर्च गरेर बनाइएको हो।
महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण सहरी क्षेत्रमा आवश्यक सङ्ख्यामा स्मार्ट शौचालय बनाउन नसकिएको बताइन्। समयसापेक्ष स्मार्ट शौचालयहरु बनाउँदै लैजाने लक्ष्य महानगरको रहेको उनको भनाइ छ।
भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा स्मार्ट शौचालयका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिए।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार