पोनी डट एआईले आगामी वर्षको अन्त्यसम्म आफ्ना रोबोट्याक्सीको संख्या तीन गुणा बढाउने

Technology Khabar १० मंसिर २०८२, बुधबार

पोनी डट एआईले आगामी वर्षको अन्त्यसम्म आफ्ना रोबोट्याक्सीको संख्या तीन गुणा बढाउने
फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्वचालित सवारीप्रविधि कम्पनी पोनी डट एआईले आगामी वर्षको अन्त्यसम्म आफ्ना रोबोट्याक्सीको संख्या तीन गुणा बढाउने योजना बनाएको छ। योसँगै कम्पनीको वृद्धि र महत्वाकांक्षामा तीव्रता आएको छ। कम्पनीसँग अहिले करिब ९६१ रोबोट्याक्सी छन्।

तेस्रो त्रैमासिक नतिजासँगै पोनी डट एआईले यो वर्षको अन्त्यसम्म १,००० रोबोट्याक्सी पुर्‍याउने लक्ष्य दोहोर्‍यायो। कम्पनीका अनुसार २०२६ को अन्त्यसम्म ३,००० भन्दा बढी सवारीसाधन पुर्‍याउने उद्देश्य राखिएको छ।

नास्ड्याक र हङकङ स्टक एक्सचेन्जमा सूचीकृत पोनी डट एआई ले यस वर्ष आफ्नो व्यावसायिक सेवा विस्तारमा जोड दिएको छ। हाल कम्पनीले बीजिङ, सांघाइ, ग्वाङझाउ र सेन्जेनमा भाडा असुल्ने व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ।

कम्पनी चीनबाहिर पनि सेवा विस्तार गर्ने लक्ष्यमा छ। पोनी डट एआईले स्थानीय कम्पनीहरू तथा बोल्ट र उबरजस्ता राइड–हेलिङ प्लेटफर्मसँग सहकार्य गर्दै कतार र सिंगापुरसहित आठ देशमा प्रवेश गरिरहेको छ।

रोबोट्याक्सी सेवाको तीव्र विस्तारले कम्पनीको आम्दानी र खर्च दुवै बढाएको छ। तेस्रो त्रैमासमा पोनी डट एआईले २५.४ मिलियन डलर आम्दानी गर्‍यो, जुन गत वर्षको सोही अवधिका १४.८ मिलियन डलरको तुलनामा ७२ प्रतिशतले बढी रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।

आय नतिजा सार्वजनिक भएपछि नास्ड्याकमा पोनी डट एआई का सेयर ६ प्रतिशतभन्दा बढीले बढे।

कम्पनीका अनुसार आम्दानीको वृद्धि रोबोट्याक्सी सेवा तथा अन्य कम्पनीलाई स्वचालित प्रविधिको लाइसेन्स उपलब्ध गराउने कामका कारण भएको हो। ग्वाङझाउस्थित कम्पनीले ६.७ मिलियन डलर रोबोट्याक्सी सेवाबाट, १०.२ मिलियन डलर ‘रोबोट्रक’ भनिने स्वचालित ट्रक सेवाबाट र ८.६ मिलियन डलर लाइसेन्स तथा एप्लिकेसन शुल्कबाट आम्दानी गर्‍यो।

तर कम्पनीको खर्च अझै आम्दानीभन्दा धेरै छ। तेस्रो त्रैमासमा पोनी डट एआईले ६१.६ मिलियन डलर खुद घाटा बेहोर्‍यो, जुन २०२४ को सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो।

सेप्टेम्बर ३० सम्म पोनी डट एआई सँग नगद, नगद–समकक्ष तथा छोटो अवधिका लगानीमा जम्मा ५८७.७ मिलियन डलर थियो, जुन वर्षको दोस्रो त्रैमासमा रहेको ७४७.७ मिलियन डलरभन्दा घटेको हो।

कम्पनीका अनुसार यस घटावटको आधा हिस्सा जापानी कम्पनी टोयोटासँगको संयुक्त उद्यममा गरिएको एकपटकको लगानीले आएको हो, जसले सातौं जेनेरेशनको सवारी उत्पादन र परिचालनलाई सहयोग गर्छ।

प्रकाशित: १० मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया