Technology Khabar १० मंसिर २०८२, बुधबार
काठमाडौं ।
प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, एनएमबी बैंक लिमिटेड, र भिसाले नेपालका पर्यटन र आतिथ्य क्षेत्रमा डिजिटल भुक्तानी समाधान प्रवर्द्धन गर्न सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।
यस सम्झौताको उद्देश्य एनएमबी बैंकको एक नवीन सम्पर्करहित भुक्तानी समाधान प्रविधि सफ्ट पिओएस प्रविधिलाई पर्यटन व्यवसाय र यात्रुहरूको वित्तीय लेनदेनमा सहजता, सुरक्षा, र प्रभावकारिता बढाउन प्रोत्साहन र प्रवर्धन गर्नु हो।
सम्झौता पत्र हस्ताक्षर समारोहमा पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाइ, एनएमबी बैंक लिमिटेडका सीईओ गोबिन्द घिमिरे, र भिसाका बंगलादेश, नेपाल र भूटान देश प्रबन्धक सब्बिर अहमदका साथै भिसा, पाटा नेपाल च्याप्टर र एनएमबी बैंकका अधिकृत प्रतिनिधिहरू पनि उपस्थित थिए।
तीनै संस्थाले यस साझेदारीले नेपालको यात्रा र पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने महत्वपूर्ण कदम भएको बताएको विज्ञप्तीमा भनिएको छ।
यस सहकार्यले विशेष गरी साना र मध्यम वर्गका पर्यटन व्यवसायहरूमा डिजिटल भुक्तानीको व्यापक स्वीकृति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ, जसले वित्तीय समावेशिता र सेवा कार्यक्षमता बढाउन मद्दत गर्ने जनाएको छ।
प्रकाशित: १० मंसिर २०८२, बुधबार