Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
बाँकेको कोहलपुरस्थित लोकनगरमा एकीकृत डाटा सेन्टर निर्माण सम्पन्न भएको छ। डिजिटल संसारको मेरुदण्ड मानिने डाटा सेन्टरलाई अहिले अन्तिम रूप दिने काम भइरहेको निर्माण कम्पनीका परियोजना प्रबन्धक कात्तिक झाले जानकारी दिए।
प्रबन्धक झाका अनुसार एकीकृत डाटा सेन्टर निर्माणको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ। ४६ करोड लागतमा कोहलपुरमा एकीकृत डाटा सेन्टर निर्माण गरिएको हो। सङ्घीय सरकारको पञ्जीकरण विभाग अन्तर्गत रहेको डाटा सेन्टर प्रादेशिक कार्यालय हो। यस कार्यालयले लुम्बिनी प्रदेश अन्तर्गत मात्रै सेवा प्रवाह गर्ने छ।
कार्यालय सञ्चालनमा आएपछि डाटा सङ्कलन र भण्डारणको काम गरिनेछ। परियोजना प्रबन्धक झाले भने, “डाटा सेन्टरका लागि भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ। ती संरचनालाई हस्तान्तरण गर्नका लागि अन्तिम रूप दिने तयारीमा छौं। अबको एक महिनाभित्रै भवन सरकारलाई हस्तान्तरण गर्छौं।”
डाटा सेन्टर निर्माणको काम २०७९ असार २० गतेदेखि सुरु भएको थियो। निर्माण सुरु भएको दुई वर्षभित्रै कार्य सम्पन्न गर्ने योजनासहित समानान्तर रेलिगेड जेभीले डाटा सेन्टर निर्माणको जिम्मा पाएको थियो।
एक बिघा क्षेत्रफलमा डाटा सेन्टरका लागि मुख्य भवन निर्माण गरिएको छ। ठूलो मात्रामा डाटा भण्डारण, प्रशोधन र वितरण गर्न कम्प्युटर प्रणाली र नेटवर्किङ उपकरण राखिएको सुविधा नै डाटा सेन्टर हो। यसमा सर्भर, स्टोरेज सिस्टम, नेटवर्किङ उपकरण, कुलिङ सिस्टम, पावर सप्लाई र सुरक्षा प्रणाली जस्ता डाटा सेन्टरका मुख्य घटक हुन्छन्।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार