
काठमाडौं ।
चीनमा चार वर्षअघि प्रतिबन्ध लगाइए पनि बिटकोइन माइनिङ फेरि शान्त रूपमा फर्कँदै गएको छ। ऊर्जा धनी केही प्रान्तहरूमा सस्तो बिजुली र डाटा सेन्टर विस्तारको फाइदा उठाउँदै व्यक्तिगत र संस्थागत माइनरहरू पुनः सक्रिय बनेका छन्, उद्योगका स्रोत र तथ्यांकहरूले जनाएका छन्।
चीन २०२१ सम्म विश्वको सबैभन्दा ठूलो क्रिप्टो माइनिङ केन्द्र थियो। तर बेइजिङले वित्तीय स्थिरता र ऊर्जा खपतको चिन्तालाई देखाएर क्रिप्टो व्यापार र माइनिङ दुवैमा प्रतिबन्ध लगाएपछि चीनको विश्वव्यापी बजार हिस्सा तत्कालै शून्यमा झरेको थियो।
बिटक्वाइन माइनिङ गतिविधि ट्र्याक गर्ने ‘ह्यासरेट इन्डेक्स’का अनुसार प्रतिबन्धपछि हराएको हिस्सा फेरिँदै अक्टोबरको अन्त्यसम्म चीन पुनः १४ प्रतिशत शेयरसहित विश्वको तेस्रो ठूलो बिटक्वाइन माइनिङ देश बनेको छ।
रोयटर्सका अनुसार माइनिङ पुनरागमनको संकेत क्यानान इन्कका चीनमा तीव्र रूपमा बढिरहेका माइनिङ उपकरण बिक्रीले पनि पुष्टि गरेको छ, जसले विश्वकै ठूलो क्रिप्टोकरेन्सीको माग र मूल्य दुवैलाई समर्थन गर्न सक्छ।
सिन्जियाङका निजी माइनर वाङले आफूले ऊर्जा प्रशस्त भएको प्रान्तमा गत वर्षदेखि फेरि माइनिङ सुरु गरेको बताए। “सिन्जियाङको धेरै ऊर्जा अन्यत्र पठाउन सकिँदैन, त्यसैले क्रिप्टो माइनिङमार्फतै खर्च गर्ने हो,” उनले भने। “जहाँ बिजुली सस्तो हुन्छ, त्यहीँ माइनिङ हुन्छ। नयाँ परियोजनाहरू निर्माण भइरहेका छन्।”
२०२१ मा प्रतिबन्ध जारी गर्ने राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) र सिन्जियाङ सरकारले रोयटर्सका प्रश्नहरूमाथि प्रतिक्रिया दिएनन्।
माइनिङ पुनर्जीवन
चार वर्षअघि बेइजिङको कारबाहीपछि माइनरहरू स्थानीय सञ्चालन बन्द गरेर उत्तर अमेरिका र मध्य एशियाजस्ता बजारतर्फ गए।
तर हालको पुनरागमन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिप्टो–समर्थक नीतिहरू, डलरप्रतिको बढ्दो अविश्वास, र बिटक्वाइनको अक्टोबरमा भएका ऐतिहासिक उचाइसँगै आएको हो, जसले माइनिङलाई अझ लाभदायक बनाएको छ।
हाल क्रिप्टोकरेन्सी अक्टोबरको उच्च बिन्दुबाट करिब एक–तिहाइ झरे पनि बजार जोखिम घट्दै गर्दा चीनमा गतिविधि बढिरहेको देखिन्छ। “विशिष्ट क्षेत्रहरूमा आर्थिक प्रोत्साहन बलियो हुँदा चीन निकै लचिलो देखिन्छ,” क्रिप्टो मार्केट इन्फ्रास्ट्रक्चर प्रदायक पर्पेचुयल्स डटकमका सीईओ प्याट्रिक ग्रुहनले भने। “चीनमा माइनिङ पुनः सक्रिय हुनु बजारका लागि वर्षौँयताको सबैभन्दा महत्वपूर्ण संकेत हो।”
चीनले आधिकारिक रूपमा माइनिङ प्रतिबन्ध हटाएको छैन, तर “नीति खुकुलो हुने संकेत मात्रै देखिए पनि बिटक्वाइनलाई विश्वव्यापी, राज्य–प्रतिरोधी सम्पत्ति भन्ने कथालाई बल मिल्छ,” उनले भने।
बिटक्वाइन माइनिङ—विशेष कम्प्युटर प्रयोग गरी जटिल गणितीय समस्या हल गरेर बिटक्वाइन कमाउने अत्यधिक ऊर्जा–खपत प्रक्रियाहरू—विशेषतः सिन्जियाङजस्ता प्रचुर बिजुली भएका क्षेत्रहरूमा सक्रिय छ।
जसले केही वर्षअघि प्रतिबन्धका कारण माइनिङ छाडेका सिचुआनका ड्युक ह्वाङका धेरै साथीहरू अहिले फेरि माइनिङमा फर्किएका छन्।
“यो संवेदनशील विषय हो… तर जसलाई सस्तो बिजुली पाइन्छ, उनीहरू अझै माइनिङ गर्दैछन्,” उनले भने।
डाटा सेन्टरमा अत्यधिक लगानीका कारण केही वित्तीय समस्यामा परेका स्थानीय सरकारहरूले उत्पादन गरेको बढी बिजुली र कम्प्युटिङ क्षमताले पनि माइनिङ पुनरागमनलाई बल मिलेको, एक माइनिङ रिग निर्माता स्रोतले बताए।
प्रकाशित: १० मंसिर २०८२, बुधबार