Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको १० दिने डिजिटल साक्षरता प्रशिक्षण सम्पन्न भएको छ।
१० दिने तालिममा डिजिटल मार्केटिंग, साइबर सेक्युरिटी, क्लाउड र आइटीका पछिल्लो ट्रेन्ड बारे प्रशिक्षण दिनुका साथै प्रयोगात्मक अभ्यास पनि गराइएको थियो।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइटी हब बनाउने उद्देश्य लिएर जेनेस सलुशनसँगको सहकार्यमा इनोभेशन सेन्टर सुरु गरेको बताए।
उनले नगरपालिका जेन जी पुस्ताको लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताउँदै आइटी तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएको र केही ‘स्वरोजगार’ भएर काम गरिरहेको पनि बताए।
मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले १० दिनको तालीमले सहभागीहरुलाई नयाँ सीप सिक्ने र आफ्नो आगामी करियरको निधो गर्न सहयोग पुग्ने बताए।
अहिले पनि विदेशमा बनेका सफ्टवेयरहरु नेपालमा प्रयोग भैरहेको भन्दै अब मुलुक लाई चाहिने सफ्टवेयर नेपालमै उत्पादन गर्न सक्ने जनशक्ति तयार गर्नु पर्ने उनले बताए।
नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्प राज ढकालले स्वागत गर्दै अहिलेको युग सूचना प्रविधिको युग भएङ्को भन्दै आइटीको सीप भएका युवाहरुले धेरै अवसर पाउन सक्ने बताए।
युवाहरुलाई सूचना प्रविधिसम्बन्धी सीप सिकाइ रोजगार प्राप्त गर्न सघाउने उद्देश्यले आयोजित तालीममा ४० जना युवाहरु सहभागी भएका थिए।
जेनेस सलुशनका कैलाश बडु, सम्पन्न श्रेष्ठ, विश्रान्त कटवाल, वरिष्ठ अधिकृत आस्था जोशी, सुजु श्रेष्ठ, वरदान खड्का क्षेत्री, निर्मल वस्ताकोटी, कृतिका कपाली, सन्तोष ताम्राकारले प्रशिक्षण सञ्चालन गरेका थिए।
यसैगरी नेपाल प्रहरीको साइबर ब्युरोका वरिष्ठ सब इन्स्पेक्टर जीत बहादुर बुढाले साइबर सयुरिटी र साइबर कानूनका बारेमा प्रस्तुति दिएका थिए। त्यस्तै सेल पे का निमेश अधिकारी, जब स्नाइपर प्रा लिका सह संस्थापक इ उज्ज्वल कोइरालाले पनि प्रशिक्षण दिएका थिए भने दिपक राज सिलवालले सहजीकरण गरेका थिए।
तालिमका सहभागी बिशाल खड्का र मनिषा कोइरालाले तालिम निकै उपयोगी भएको बताउँदै यो अवसर दिएकोमा नगरपालिका तथा जेनेस सलुशनलाई धन्यवाद दिए। सबै सहभागीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।
जेनेस सलुशनका अफिसहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार