मलेसियाले अर्को वर्षदेखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने

  • Technology Khabar | ८ मंसिर २०८२, सोमबार
मलेसियाले अर्को वर्षदेखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

मलेसियाले आगामी वर्षदेखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने योजना बनाएको छ। बालसुरक्षासम्बन्धी चिन्ताका कारण डिजिटल प्लेटफर्ममा पहुँच सीमित गर्ने देशहरूको सूची बढिरहेको समयमा मलेसियाको यो निर्णय आएको हो।

आइतबार सञ्चारमन्त्री फाहमी फादजिलले सरकार अस्ट्रेलिया लगायत अन्य देशहरूले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा लागू गर्न अपनाएको विधि अध्ययन गरिरहेको बताए। उनले साइबरबुलिङ, वित्तीय ठगी र बाल यौन दुरुपयोगजस्ता अनलाइन जोखिमबाट युवाहरूलाई जोगाउन आवश्यक रहेको उल्लेख गरे।

“हामीलाई आशा छ, आउँदो वर्षसम्म सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई खाता खोल्न नदिने सरकारी निर्णय पालना गर्नेछन्,” स्थानीय दैनिक द स्टारले अनलाइन प्रकाशित गरेको भिडियोका अनुसार उनले पत्रकारलाई बताए।

रोयटर्सका अनुसार बालबालिकाको स्वास्थ्य र सुरक्षामा सामाजिक सञ्जालको प्रभावबारे विश्वभर चासो बढेको छ। टिकटक, स्न्यापच्याट, गुगल र मेटा  प्लेटफर्म अन्तर्गतका फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपजस्ता सञ्जालहरुले अमेरिकामा मानसिक स्वास्थ्य संकट बढाएको आरोपमा मुद्दामा परिरहेका छन्।

अष्ट्रेलियामा सामाजिक सञ्जाल कम्पनीहरूलाई आगामी महिनादेखि किशोरहरूका लागि ल्याइएको व्यापक प्रतिबन्ध अन्तर्गत १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका खाता निष्क्रिय गर्नु पर्नेछ।

यो निर्णय विश्वभरका नियामकहरूले नजिकबाट हेरिरहेका छन्। फ्रान्स, स्पेन, इटाली, डेनमार्क र ग्रीसले उमेर प्रमाणिकरणका लागि प्रयोग गर्न सकिने अनुप्रयोगको नमुना पनि संयुक्त रूपमा परीक्षण गरिरहेका छन्।

मलेसियाको छिमेकी इन्डोनेसियाले जनवरीमा सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर तोक्ने योजना बनाएको थियो, तर पछि नकारात्मक सामग्री फिल्टर गर्न र कडा उमेर प्रमाणिकरण लागू गर्न टेक प्लेटफर्मलाई बाध्य पार्ने खालको कम कडा नियम ल्यायो।

मलेसियाले पछिल्ला वर्षहरूमा अनलाइन जुवातास, जाति–धर्म तथा राजसंस्थासँग सम्बन्धित सामग्री बढेको दाबी गर्दै सामाजिक सञ्जाल कम्पनीमाथि निगरानी कडा बनाएको छ।

जनवरीदेखि लागू भएको नयाँ नियमअनुसार मलेसियामा ८ मिलियनभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल तथा सन्देश सेवाहरूले अब लाइसेन्स लिनुपर्नेछ।

प्रकाशित: ८ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार