
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए।
सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवर्तनहरुलाई अभिमुखीकरण दिईएको थियो।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ। चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलब्ध गराइने क्षेत्र लगायतका विषयमा नवप्रवर्तनहरुलाई जानकारी दिएका थिए।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए। आगामी आर्थिक वर्षको बजेटमा वृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुपर्ने उनको भनाइ छ।
स्टार्टअप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रवर्तनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनिहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने अध्यक्ष अग्रवालले बताए। स्टार्टअप कर्जासम्बन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुुपयोग गरी उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए। महिला उद्यमशिलता सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाइ छ।
प्रकाशित: ४ मंसिर २०८२, बिहीबार