आईफोन फोल्डमा आईफोन १७ प्रो म्याक्स भन्दा ठूलो ब्याट्री हुन सक्ने

Technology Khabar ५ मंसिर २०८२, शुक्रबार

काठमाडौं ।

एप्पलको लामो समयदेखि अफवाहमा रहेको पहिलो फोल्डेबल डिभाइस अर्को वर्ष लन्च हुने अपेक्षा गरिएको छ। यद्यपि केही रिपोर्टहरूले भने आईफोन फोल्ड (अस्थायी नाम) अझै पनि २०२७ मा डेब्यू गर्ने सुझाव दिएका छन्। यसै क्रममा बाहिर आएको एउटा नयाँ लीकले फोल्डेबल आईफोनको ब्याट्री आकारको विवरण बारे जानकारी प्रदान गरेको छ।

एप्पल आईफोन फोल्डले आईफोन १७ प्रो म्याक्स भन्दा ठूलो ब्याट्री प्याक गर्ने रिपोर्ट गरिएको छ। आईफोन १७ प्रो म्याक्समा ४,८२३एमएएच सेल (ईसिम मोडेलले ५,०८८एमएएच युनिट) समावेश गरिएको छ। फोल्डेबल आईफोनमा भने ५,४०० र ५,८००एमएएच बीचको क्षमता भएको ब्याट्री प्याक गरिने भनिएको छ।

एप्पलले हाल माथि उल्लेखित ब्याट्री क्षमता भएको फोल्डेबल आईफोनको परीक्षण गरिरहेको रिपोर्टले दाबी गरेको छ। साथै आईफोन एयरको प्रारम्भिक प्रोटोटाइपहरूले ३,०००एमएएच ब्याट्री प्रयोग गरेको र एप्पल अन्ततः अन्तिम मोडेलमा ठूलो युनिट फिट गर्न सक्षम भएको थप उल्लेख गरिएको छ।

आईफोन फोल्डको लागि पनि यस्तै परिणामको सम्भावना रहेको र ६,०००एमएएच नजिकको ब्याट्रीको साथ आउन सक्ने बताइएको छ। फोल्डेबलमा ७.५८ इन्चको भित्री डिस्प्ले र ५.३८ इन्चको कभर स्क्रिन हुने हल्ला रेहको हुनाले बढ्दो पावर माग पूरा गर्न ठूलो ब्याट्री आवश्यक हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया