Technology Khabar ३ मंसिर २०८२, बुधबार
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्क र एनभिडियाका सीईओ जेन्सेन हुआङ बुधबार वाशिङ्टनमा हुने अमेरिका–साउदी अरब लगानी फोरममा कृत्रिम बुद्धिमत्ता र प्रविधिमा भएको प्रगतिसम्बन्धी छलफलमा सहभागी हुने भएका छन्। यसबारे रोयटर्सले पाएको एउटा कागजातमा उल्लेख भएको जनाइएको छ।
“यो छलफलले आगामी प्रविधिगत विकासलाई अगाडि बढाउने नयाँ शक्तिहरूको समीक्षा गर्नेछ, साथै अझ बढी बुद्धिमानी र आपसमा जोडिएको भविष्य निर्माण गर्न भूमिका खेल्ने संरचना, मोडेल र लगानीहरूलाई उजागर गर्नेछ,” कागजातमा उल्लेख छ।
यो कार्यक्रम साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एबबीएस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेको भोलिपल्टका लागि योजना बनाइएको हो।
छलफलको संयोजन साउदी अरबका सञ्चार तथा सूचना प्रविधि मन्त्री अब्दुल्लाह अल्स्वाहाले गर्नेछन्। मस्क र हुआङ दुवै क्राउन प्रिन्सका लागि ट्रम्पले आयोजना गरेको डिनरमा पनि उपस्थित भएका थिए।
कार्यक्रममा चेभ्रोन, प्यालान्टिर,अराम्को, क्वालकम, सिस्को, एडोबी, जेनेरल डाइनामिक्स र फाइजरका सीईओहरूसमेत सहभागी हुने एजेण्डामा उल्लेख छ।
२०१८ पछि बिन सलमानको अमेरिकाको पहिलो भ्रमणको क्रममा उनले अमेरिका र साउदी अरबबीच बढ्दै गएको व्यापारिक सम्बन्धलाई अघि सारेका छन्। ब्ल्याकस्टोन ग्रुप, बोइङ,आईबीएम, अल्फाबेटको गुगल, सेल्सफोर्स, सुपरमाइक्रो,लकहीड मार्टिन, साउदिया ग्रुप, एण्ड्रीसीन होरोविज, ह्यालिबर्टन, स्टेट स्ट्रीट र पियर्सन्स कर्पका वरिष्ठ अधिकारीहरू पनि नोभेम्बर १९ मा जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्समा हुने कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पले पनि कार्यक्रममा सम्बोधन गर्ने व्हाइट हाउसले जनाएको छ।
फोरममा कृत्रिम बुद्धिमत्ता, ऊर्जा, प्रविधि, एयरोस्पेस, स्वास्थ्य सेवा र वित्तीय क्षेत्रबारे छुट्टाछुट्टै प्यानल हुनेछन्। मे महिनामा राष्ट्रपति ट्रम्पको चारदिने मध्यपूर्व भ्रमणका क्रममा अमेरिका र साउदी अरब दुवै देशले अर्बौं डलरका लगानी घोषणा गरेका थिए।
प्रकाशित: ३ मंसिर २०८२, बुधबार