Technology Khabar २ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
कुनै समय साधारण शेयर सर्वसाधारणमा जारी गर्ने नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक बन्ने होडमा रहेको लुप नेटवर्कस् लिमिटेडको इन्टर्नेट (ईमेल सहित) सेवाको अनुमतिपत्र खारेज गरिएको छ।
कम्पनीको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम २०८१ कात्तिक ३० देखि लागू हुने गरी खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
एक वर्षअघिकै मितिमा अनुमति पत्र खारेज भएपनि नियामक निकाय प्राधिकरणले सार्वजनिक सूचना भने बल्ल २०८२ मंसिर २ गते प्रकाशित गरेको छ।
स्मरण रहोस्, लुप नेटवर्कस लिमिटेडले २०७८ चैतमा रु.१०० अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको थियो। त्यस समयमा चार करोड रुपैयाँ बराबरको शेयर निस्कासनका लागि लुप नेटवर्कसले एनआईसी एशिया क्यापिटलसँग सहकार्य गरेको थियो।
कम्पनीको रु.१००/– अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको जानकारी दिएको थियो।
एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत सो कम्पनीलाई सम्पूर्ण सेवा उपलब्ध गराउने बताईएको थियो।
तत्कालिन समयमा लुप नेटवर्कसका प्रबन्ध निर्देशक सतिस पोखरेलले २ वर्षदेखिको तयारीअनुसार नै शेयर ल्याउन लागेको जानकारी दिएका थिए। उनले त्यसबेला टेक्नोलोजीखबरसँग भनेका थिए “हामी सेवा बिस्तारको क्रममा छौं र लगानी आवश्यक भएको छ। आईपीओको रकमले हामीलाई २०२५ सम्ममा १ लाख ग्राहक पुर्याउने लक्ष्यमा सहयोग गर्नेछ।”
सम्बन्धित समाचार-
इन्टरनेट सेवा प्रदायकले पहिलो पटक आईपीओ ल्याउँदै, लुप नेटवर्कसले ४ करोडको शेयर जारी गर्ने
तर सन् २०२५ को अन्त्यमा आएर कम्पनीको इन्टरनेट सेवा प्रदायकको अनुमति पत्रनै खारेज भएको छ।
यसका साथै नेपाल विद्युत प्राधिकरणले समेत लुप नेटवर्कलाई विद्युत प्राधिकरणको अप्टिकल फाइबर भाडामा लिए बापतको महसुल बुझाउन भन्दै जारी गरेको थियो।
सम्बन्धित समाचार-
सेवा बन्द र खारेज भएका दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता बुझाउन विद्युत प्राधिकरणको आदेश
त्यसबेला कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ भएको र आईपीओपछि सो पूँजी १२ करोड रुपैयाँ हुनेछ र यसमा अन्य लगानीकर्ताहरु समेत थपिने बताएका थिए भने ५५ जना लगानीकर्ताहरु रहेको जानकारी दिएका थिए।
कम्पनीको सर्वसाधारण शेयर लगानी रकम कुल लगानीको करिब २५ प्रतिशत हुने प्रबन्ध निर्देशक पोखरेलले जानकारी दिएका थिए।
तर अब अनुमति पत्रनै खारेज भएपछि कम्पनीले तयार पारेका योजनाहरु के हुन्छ भन्ने कुनै जानकारी छैन्। यस बारेमा थप जानकारी लिन कम्पनीका प्रबन्ध निर्देशक पोखरेलसँग सम्पर्क गर्ने पटक पटक प्रयास गर्दा सम्पर्क हुन सकेन्।
प्राधिकरण स्रोतले भने कम्पनीले आफूले काम गर्न नसकेको भन्दै खारेजका लागि निवेदन दिएको र सोहीअनुसार प्रकृया अगाडि बढाएर खारेज गरिएको जानकारी दिएको छ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जारी गरेको सूचनामा भनिएको छ, “लुप नेटवर्कस् लिमिटेड, कुलेश्वर, काठमाडौँलाई प्राधिकरणबाट मिति २०७३/०४/०२ मा प्रदान गरिएको इन्टर्नेट ( ईमेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १ – ८७) र मिति २०७९/०४/०४ मा प्रदान गरेको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र ( भि.ज. ६- ३३) दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम मिति २०८१/०७/३० देखि लागू हुने गरी खारेज भएको छ…।”
साथै उक्त लिमिटेडले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न समेत सूचित गरिएको छ।
अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
कम्पनीको इन्टरनेट सेवा र नेटवर्क सेवा प्रदायक दुबै अनुमति पत्र खारेज भएसँगै कम्पनी इन्टरनेट व्यवसाय क्षेत्रबाटै बाहिरिएको देखिन्छ। अहिले कम्पनीको वेबसाइट समेत चलेको छैन भने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि सन् २०२२ देखि कुनै अपडेट नभएको देखिन्छ।
प्रकाशित: २ मंसिर २०८२, मंगलवार