२५ वर्षे अनुमति पत्र सकिएको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले पायो पुनः अनुमति पत्र

Technology Khabar १ मंसिर २०८२, सोमबार

२५ वर्षे अनुमति पत्र सकिएको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले पायो पुनः अनुमति पत्र
भायनेटको जावलाखेलमा रहेको ग्राहक सेवा केन्द्र । फाईल तस्बिर

काठमाडौं ।

भायानेट कम्युनिकेशन लिमिटेडको इन्टरनेट सेवा प्रदायकको अनुमतिको २५ वर्ष सकिएसँगै पुनः नवीकरण गरिएको छ। २५ वर्ष पुरा गरेर नेपाल दूरसञ्चार प्राधिकरणबाट पुनः अनुमति पत्र प्राप्त गर्ने भायानेट तेस्रो सेवा प्रदायक कम्पनी भएको छ।

यसअघि नियामकले २५ वर्षको अनुमति पत्र सकिएका नेपाल टेलिकम र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई पुनः अनुमति पत्र जारी गरेको थियो।

भायानेटले २५ वर्षको लागि नयाँ अनुमति पत्र पाएपनि प्रत्येक ५ वर्षमा उक्त अनुमति पत्र नवीकरण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ।

भायानेटको उक्त अनुमति पत्र मंगलबार २०८२ मंसिर २ गतेदेखि लागू हुने प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

प्राधिकरणले नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार इन्टरनेट सेवाको लागि लाग्ने ३ लाख रुपैयाँ दस्तुर लिएर पुनः अनुमति पत्र दिएको हो।

भायानेट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो। सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बनेको कम्पनीको दाबी छ।

स्थापनाकालमा प्राइभेट लिमिटेडको रुपमा शुरु भएको भायानेट हाल पब्लिक कम्पनीको रुपमा लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ।

भायानेटसँग इन्टरनेट सेवा प्रदायकका साथै नेटवर्क सेवा प्रदायकको समेत अनुमति पत्र रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८२ भदौसम्म कम्पनीले कुल ३ लाख २५ हजार ६२९ ग्राहकहरुलाई इन्टरनेट सेवा दिँदै आएको छ। यस्तै ९ दशमलब ९१ प्रतिशत बजार हिस्सा कायम राख्नै कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये चौथो स्थानमा रहेको छ।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया