Technology Khabar १ मंसिर २०८२, सोमबार
काठमाडौं ।
एप्पलले २०२३ मा आईओएस १७ को भागको रूपमा नेमड्रप प्रस्तुत गरेको थियो। यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो आईफोनलाई अर्को व्यक्तिहरूको आईफोनसँग नजिक ल्याएर एक अर्कासँग फाइलहरू सेयर गर्न दिन्छ। साथै नेमड्रपले सम्पर्क जानकारी सेयरिङ्गलाई पनि समर्थन गर्दछ।
यसै क्रममा अब दुई वर्षभन्दा बढी समयपछि गुगलले एन्ड्रोइडको लागि त्यस्तै सुविधामा काम गरिरहेको छ। यो “जेस्चर एक्सचेन्ज” नामक गुगल प्ले सेवाहरूको संस्करणमा पत्ता लागेको बताइएको छ।
जेस्चर एक्सचेन्जमा समावेश रहेको कन्ट्याक्ट एक्सचेन्ज भनिने गतिविधिले एनएफसी प्रयोग गर्दछ। एन्ड्रोइडको लागि गुगलको नेमड्रप कस्तो देखिनेछ भनेर देखाउने तस्बिरहरु सार्वजनिक गरिएको छ।
बायाँको स्क्रिनसटले कार्यक्षमता सुरु गर्दा देखिने पहिलो स्क्रिन देखाउँछ। त्यहाँ फोटो, फोन नम्बर, इमेल ठेगाना जस्ता सेयर गर्न चाहेको विवरणहरू चयन गर्न सकिनेछ। साथै कुनै पनि जानकारी सेयर गर्न नचाहेको अवस्थामा केवल रिसिभ छनौट गर्न सकिने छ।
त्यसैगरी दायाँपट्टिको स्क्रिनसटले प्राप्त जानकारी देखाउँदछ र ट्याप गरेर सेभ गर्न सकिन्छ। साथै त्यहाँ भएका बटनहरू प्रयोग गरेर सिधै भिडियो कल सुरु गर्न वा टेक्स्ट पठाउन पनि सकिन्छ।
यसको लागि एनएफसी निश्चित रूपमा प्रयोग भइरहेको र यो दुई फोनहरू बीचको सम्बन्ध स्थापित गर्न प्रारम्भिक चरण मात्र हुन सक्ने बताइएको छ। अहिलेको लागि विकास स्पष्ट रूपमा कन्ट्याक्ट सेयरिङ–उन्मुख भएको र गुगलले पछिको समयमा फाइल सेयरिङ क्षमताहरू पनि थप्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
कम्पनीले यस सुविधाको लागि जेस्चर एक्सचेन्ज÷कन्ट्याक्ट एक्सचेन्ज भन्दा राम्रो सुनिने नाम पनि छनौट गर्न सक्ने बताइएको छ। यस सुविधाको विकास जारी रहेको र यो प्रत्यक्ष हुन अझै केही समय लाग्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १ मंसिर २०८२, सोमबार