विकट क्षेत्रमा धमाधम दूरसञ्चार सेवा विस्तार

Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका विकट क्षेत्रमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो। दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।

हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नं ७ मा नयाँ फोरजी एलटीइ टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नं ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यता डोल्पाको ठूलीभेरी नगरपालिका र से–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्ती सञ्चारको पहुँचमा जोडिएका छन्। दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिए। योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका उनले उल्लेख गरे।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुनाकन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो । यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । त्यतिमात्र होइन, मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखिनै बझाङको तलकोटमा पनि पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो। गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सञ्चालन भएको थियो ।

सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरूमा उक्त सेवाको पहुँच पुर्याउन लागिपरेको बताए। उनले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउँदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिए।

सुदूरपश्चिम प्रदेशको बिवट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुरु भएको छ । बुढीनन्दका विभिन्न वडामात्र नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।

यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेलामात्र चल्ने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार र पारिवारिक सन्देश आदानप्रदान सहज भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ४३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।

प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड) ४८ दशमलव ८२ प्रतिशत जनसङख्यामा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ । मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिशत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ।

नेपाल टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानमा नयाँ टावर जडान र पुराना टावर अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।

यस्तै डोल्पाको दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्कालगायतका बस्तीमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाडस्थित से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ।

निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलले पनि गुणस्तर सुधार र सेवा विस्तारमा आक्रामक रूपले अघि बढेको छ । विशेषगरी मधेस र कोशी प्रदेशलाई प्राथमिकतामा राखी आगामी पुसभित्र दुई सयवटा टावर विस्तार गर्ने लक्ष्यअनुरूप हालसम्म ४५ ओटा टावर जडान गरिसकेको कम्पनीले जनाएको छ। हाल एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भइसकेको छभने ९२ प्रतिशतभन्दा बढीमा टुजी सेवा छ।

यसैबीच दाङको केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा नभएको विषयबारे गुनासो आएपछि सञ्चारमन्त्रीले तत्कालै टेलिकमका कर्मचारीलाई निर्देशन दिएलगत्तै टेलिकमको डिभिजन कार्यालयका प्रमुख वरिष्ठ इञ्जिनियर प्रवीण चौधरी नेतृत्वको प्राविधिक टोली फिल्डमा खटिएर मर्मत गरेको थियो। घोराही उपमहानगरपालिका–३ र ५ का केही क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधान भएको थियो । टेलिकम तुल्सीपुर दाङले फोरजी नेटवर्क सुधार गरेको जनाइएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया