आयरल्याण्डले सामग्री मध्यस्थताको लागि इलन मस्कको एक्समा अनुसन्धान सुरु गर्यो

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

काठमाडौं ।

आयरल्याण्डको मिडिया नियामकले इलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सद्वारा गरिएका कन्टेण्ट मोडरेसन (सामग्री मध्यस्थता) निर्णयहरूलाई मानिसहरूले चुनौती दिन सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गर्ने बताएको छ।

कोइमिसियुन ना मीन (Coimisiún na Meán – आयरल्याण्डमा प्रसारण र अनलाइन मिडियाको नियामक) ले प्लेटफर्मको सेवा सर्तहरू उल्लङ्घन गर्ने देखिने सामग्री हटाउन नदिने एक्सको निर्णयहरू विरुद्ध मानिसहरूले अपील गर्न सक्छन् कि सक्दैनन्, मानिसहरूलाई उनीहरूले गरेका रिपोर्टहरूको नतिजाको बारेमा सूचित गरिएको छ कि छैन र एक्ससँग गुनासोहरू ह्यान्डल गर्न सजिलो पहुँच संयन्त्र छ कि छैन भनेर परीक्षण गर्ने बताएको छ।

एक्सले युरोपेली संघको डिजिटल सर्भिस एक्ट (डीएसए) उल्लङ्घन गरिरहेकोमा नियामकले चिन्ता व्यक्त गरेको र यसमा प्रयोगकर्ताहरूलाई “इफेक्टिभ इन्टर्नल कम्प्लेन्स–ह्यान्डलिङ सिस्टम” (प्रभावकारी आन्तरिक गुनासो–ह्यान्डलिङ प्रणाली) मा पहुँच गर्नु पर्ने आवश्यकताको उल्लेख गरिएको छ जहाँ उनीहरूले गुनासोहरू दर्ता गर्न र निर्णयहरू अपील गर्न सक्नेछन्।

यदि अनुसन्धानले एक्सले डीएसएको पालना नगरेको फेला पारेमा, नियामकले कम्पनीको कारोबारको ६ प्रतिशतसम्म जरिवाना लगाउन सक्ने बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

सामाजिक सञ्जाल प्लेटफर्मले कुनै पनि अनुपालन समस्याहरूलाई सम्बोधन गर्न आयरिश नियामकसँग सम्झौतामा हस्ताक्षर पनि गर्न सक्ने उल्लेख गरिएको छ।

कोइमिसियुन ना मीनले एक्समा आचरणको बारेमा अनुसन्धान सुरु गरेको यो पहिलो पटक भने होइन। गत जुनमा, नियामकले प्लेटफर्मले बालबालिकाहरूलाई हानिकारक सामग्रीबाट कसरी जोगाउँछ भन्ने बारे थप जानकारीको लागि अनुरोध गरेको थियो।

त्यसैगरी नियमहरूको पालना गर्न असफल भएमा ५००,००० युरोसम्म जरिवाना हुन सक्ने बताइएको छ।

नियामकले २०२४ मा एक्सले धेरै अन्य प्रमुख प्लेटफर्महरूसँगै प्रयोगकर्ताहरूलाई अवैध सामग्री बारे रिपोर्ट गर्न सजिलो बनाउँछ/बनाउँदैन र गुनासो गर्नको लागि स्पष्ट सम्पर्क बिन्दु प्रदान गर्दछ कि गर्दैन भन्ने बारे अनुसन्धान पनि खोलेको थियो।

गत वर्ष, युरोपेली आयोगले एक्सलाई डिजिटल विज्ञापन, डाटा पहुँच र प्रयोगकर्ताहरूको व्यवहारलाई उनीहरूको सहमति बिना प्रभाव पार्न प्रयोग गरिने “डार्क प्याटर्न” सम्बन्धी डीएसएको प्रावधानहरूको प्रारम्भिक उल्लङ्घनमा फेला पारेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया