ओपनएआईका कारण सफ्टब्याङ्कको दोस्रो त्रैमासको नाफा अपेक्षाभन्दा दोब्बर

Technology Khabar २६ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

जापानको सफ्टब्याङ्क ग्रुपले मंगलबार दोस्रो त्रैमासिक शुद्ध नाफा दोब्बर बढेर २.५ ट्रिलियन येन (१६.६ अर्ब डलर) पुगेको जनाएको छ जसमा ओपनएआईमा भएको लगानी मूल्यवृद्धिले प्रमुख भूमिका खेलेको छ।

एलएसइजीद्वारा सर्वेक्षण गरिएका तीन विश्लेषकले जुलाई–सेप्टेम्बर अवधिका लागि औसत २०७ अर्ब येन नाफाको अनुमान गरेका थिए। गत वर्षको सोही अवधिमा सफ्टबैंकले १.१८ ट्रिलियन येन नाफा कमाएको थियो।

कम्पनीको भिजन फण्ड इकाइले यस त्रैमासमा ३.५ ट्रिलियन येनको लगानी नाफा देखाएको छ, जसमा च्याटजीपीटी निर्माता ओपनएआईमा भएको समूहको हिस्सेदारीबाट मात्र २.१६ ट्रिलियन येन आएको हो।

रोयटर्सका अनुसार यो परिणाम प्रविधिसम्बन्धी कम्पनीहरूको शेयर मूल्य बढ्दै गएको पृष्ठभूमिमा आएको हो, जसले सफ्टब्याङ्कको सेयर मूल्यलाई ऐतिहासिक उच्चतामा पुर्‍याएको छ।

डाटा सेन्टरजस्ता कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारमा तीव्र लगानी भइरहेको र ओपनएआईजस्ता अग्रणी कम्पनीहरूले तीव्र वृद्धिको प्रक्षेपण गरिरहेका बेला सफ्टबैंक यस लहरको प्रमुख लाभाग्राही बनेको छ।

तर, लगानीकर्तामाझ ‘एआई बबल’ प्रति चिन्ता बढ्दै गएको छ, किनभने ठूला कम्पनीहरूले गरेको विशाल पूँजीगत लगानीले अपेक्षित उच्च नाफा नल्याउन सक्ने आशंका गरिएको छ। ओपनएआईको मूल्यांकन वर्षभरि लगातार र तीव्र गतिमा बढ्दै गएको छ।

मार्चमा सफ्टब्याङ्कले ओपनएआईमा ३०० अर्ब डलर मूल्यांकनमा ४० अर्ब डलरसम्मको लगानी चरणको नेतृत्व गर्न सहमति गरेको थियो। अक्टोबरमा एक स्रोतले रोयटर्सलाई दिएको जानकारीअनुसार सफ्टब्याङ्क ओपनएआईका कर्मचारीहरूबाट ६.६ अर्ब डलरका सेयर खरिद गर्न लागेको लगानीकर्ता समूहको हिस्सा बनेको थियो, जसमा कम्पनीको मूल्यांकन ५०० अर्ब डलर आकलन गरिएको थियो।

सफ्टब्याङ्क अहिले सन् २०१७ र २०१९ मा सुरु गरिएका भिजन फण्डपछि सबैभन्दा ठूला एआईसम्बन्धी लगानीको तयारीमा रहेको छ र यसका लागि ठूलो रकम आवश्यक परेको छ।

अक्टोबरमा कम्पनीले आफ्नो सम्पत्ति व्यवस्थापन सहायक कम्पनीले पनि राखेका एनभिडियाका ३२.१ मिलियन सेयर बेचेर ५.८३ अर्ब डलर संकलन गरेको थियो।

यो आर्थिक वर्षको अप्रिलदेखि कम्पनीले तीन मुद्रामा बाँडपत्र जारी गरेको छ, जसको कुल मूल्य ६२० अर्ब येन, २.२ अर्ब डलर र १.७ अर्ब युरो रहेको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया