राष्ट्रिय एआई केन्द्र स्थापना

  • Technology Khabar | २५ कार्तिक २०८२, मंगलवार
राष्ट्रिय एआई केन्द्र स्थापना

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको बताएका छन्। मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रको सोमबार उद्घाटनका क्रममा उक्त कुरा बताएका हुन्।

मन्त्री खरेलले एआई केन्द्रको स्थापनासँगै नेपाल डिजिटल नेपालको बाटोमा अघि बढेको सन्देश गएको प्रस्ट पारे। उनले भने, “एआई केन्द्रको यो सुरुवात हो, यसलाई निरन्तर रूपमा अगाडि बढाउँछौँ। एआई नीति आइसकेको छ। एआई काउन्सिल पनि गठन भइसकेको छ। आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्ने छ।”

उनले जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्तनको सन्देशमा एआईले जोड्ने विश्वास व्यक्त गरे। डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्य केन्द्रको रहेको छ।

कोषमा आबद्ध गरिने

मन्त्री खरेलले सबै मिडियालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न मन्त्रालयमै एक समिति गठन गरेको जानकारी दिएका छन्। नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँगको सोमबारको भेटमा मन्त्री खरेलले पहिलो चरणमा सरकारी, दोस्रो चरणमा  निजी सञ्चार माध्यमलाई कोषमा समावेश गर्ने तयारी गरिएको प्रस्ट पारे।

मन्त्री खरेलले आफ्नो कार्यकालभर सबै मिडियालाई कोषमा लगेर पत्रकारिता पेसालाई व्यवस्थित बनाउने दावी गरे। मन्त्री खरेलले सञ्चारसम्बन्धी कानुन बनाउँदा पत्रकार महासङ्घसँगै परामर्श गरेर ल्याउने बताए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस् भन्नेमा सरकार प्रतिबद्ध रहेको उनले विश्वास दिलाए।

“जेनजी आन्दोलनमा घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिने छ। क्षति भएका मिडियालाई क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रयास गरिएको छ। मृत्यु भएका सुरेश रजकका परिवारलाई रोजगारी दिने निश्चित भइसकेको छ। अर्को महिनाबाट रोजगारी सुनिश्चित हुने छ,” उनले भने।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले लामो समयदेखि पत्रकारको पारिश्रमिक वृद्धिदेखि पेसागत सुरक्षा हुन नसकेको ध्यानाकर्षण गराइन्।

सरकारले गर्ने कार्यप्रति मिडियालाई रचनात्मक रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ छ। महासङ्घले मन्त्री खरेललाई आठबुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार