Technology Khabar २४ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार सिंहदरबारमा स्थापना गरिएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) केन्द्र शुभारम्भ गरेका छन्।
मन्त्री खरेलले सानो कोठाबाट सुरुवात भएको यस केन्द्रले नेपालको एआई क्षेत्रमा ठूलो फड्को मारेको बताए।
मन्त्री खरेलले भने, “एआई केन्द्रको यो प्रारम्भ हो, यसलाई निरन्तर रूपमा अगाडि बढाइनेछ। एआई नीति आइसकेको छ, एआई काउन्सिल गठन भइसकेको छ। आजकै दिनदेखि केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्दैछ। यसले नेपाललाई डिजिटल नेपाल र डिजिटल रूपान्तरणको यात्रातर्फ अघि बढाएको सन्देश दिएको छ।”
मन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्तन प्रवर्द्धनजस्ता मुद्दाहरू साकार गर्न एआई प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
केन्द्रले एआई प्रविधि प्रयोग गर्न इच्छुक निजी क्षेत्रलाई नीतिगत सहजीकरण प्रदान गर्ने, साथै एआई सम्बन्धी कार्यक्रम तथा परियोजना निर्माणलाई प्रोत्साहन दिने कार्य गर्ने मन्त्रालयले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०८२, सोमबार