लाइसेन्स: मेसिन किनेर ल्याए पनि छाप्ने अनुमति छैन

Technology Khabar २४ कार्तिक २०८२, सोमबार

काठमाडौं ।

मकवानपुरगढी समाचारदाता मकवानपुरगढी, कात्तिक २३ गते
बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएका पाँच थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ।

खरिद गरिएका मेसिनमध्ये एउटा मेसिनले प्रतिघण्टा करिब १५० वटा सवारीचालक अनुमतिपत्र छाप्न सक्ने क्षमता राख्छ तर सुरक्षण मुद्रण विभागबाट प्रदेश सरकारले छाप्न सक्ने गरी निर्देशन नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेका छैनन्।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाका अनुसार सवारीचालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नवीकरणका लागि राजस्व तिरेका व्यक्तिलाई अझै लाइसेन्स दिन सकिएको छैन।

सुरक्षण मुद्रण ऐन २०५१ को दफा ९ को उपदफा ३ मा भएको व्यवस्थाबमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको बताएको छ।

अनुमतिपत्र छपाइ प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने उनले बताए।

हाल बागमती प्रदेशको १२ लाख र देशभरका १३ लाख गरी २५ लाख बढी लाइसेन्स छाप्न बाँकी छन्। अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाइ ढिलो हुने सामग्री ढुवानी र वितरणमा समय लाग्ने तथा सेवाग्राहीले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था कायम छ।

बागमती प्रदेश सरकारले सङ्घीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटक पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले भने, “सङ्घीय सरकारबाट आवश्यक अनुमति प्राप्त भएलगत्तै छपाइ प्रक्रिया सुरु गर्ने गरी तयारी गरिएको छ।”

आजको गोरखापत्रबाट

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया