
काठमाडौं ।
चिनियाँ वाणिज्य मन्त्रालयले आइतबार जनाए अनुसार चीनले नेक्सपेरिया कम्पनीका चिपहरू नागरिक प्रयोजनका लागि निर्यात नियन्त्रणबाट छूट दिएको छ। यो निर्णयले गाडी निर्माताहरू र अटो पार्ट्स आपूर्तिकर्ताहरूका लागि चिपको अभाव कम गर्न सहयोग पुर्याउनेछ।
यो घोषणा नेदरल्यान्ड्स सरकारले नेक्सपेरिया माथि नियन्त्रण लिएपछि विश्वव्यापी अटो उद्योगमा परेको दबाब घटाउने बीजिङको हालसम्मको सबैभन्दा स्पष्ट संकेत हो। नेक्सपेरियाले सवारीसाधनका विद्युतीय प्रणालीहरूमा प्रयोग हुने आधारभूत चिपहरू उत्पादन गर्छ।
नेक्सपेरिया नेदरल्यान्ड्समा आधारित भए पनि यो चिनियाँ कम्पनी विङटेकको स्वामित्वमा रहेको छ।
रोयटर्सका अनुसार चिनियाँ वाणिज्य मन्त्रालयले ‘नागरिक प्रयोजन’ अन्तर्गत के-के पर्छ भन्ने स्पष्ट पारेको छैन, तर जर्मनी र जापानका कम्पनीहरूले नेक्सपेरिया का चीनमा बनेका चिपहरूको आपूर्ति पुनः सुरु भएको बताइसकेका छन्। तर पनि, नेक्सपेरियाको स्वामित्व र सञ्चालनसम्बन्धी विवाद समाधान नभएसम्म चीन र नेदरल्यान्ड्सबीचको सम्बन्ध, साथै युरोपेली सङ्घसँगको सम्बन्ध पनि तनावपूर्ण नै रहने सम्भावना छ।
नेदरल्यान्ड्स सरकारले सेप्टेम्बर ३० मा नेक्सपेरिया माथि नियन्त्रण लिएको थियो। सरकारले विङटेक कम्पनीले युरोपमा रहेको उत्पादन केन्द्रहरू चीन सार्ने योजना बनाएको बताएको थियो जसले युरोपेली आर्थिक सुरक्षामा खतरा पुर्याउन सक्थ्यो।
यसपछि चीनले कम्पनीका तयार चिपहरूको निर्यात रोकेको थियो, तीमध्ये अधिकांश चीनमै प्याकेज गरिन्छन्। तर अक्टोबर ३० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटपछि चीनले छूटका लागि आवेदन लिन सुरु गर्ने बताएको थियो।
चिनियाँ वाणिज्य मन्त्रालयले बारम्बार उसले विश्वव्यापी चिप आपूर्ति श्रृङ्खलाको संरक्षण गरिरहेको छ, तर नेदरल्यान्ड्सले विवाद समाधानका लागि कदम नचालेको बताउँदै आएको छ।
मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा भनेको छ, “चीनले युरोपेली सङ्घले नेक्सपेरिया माथिको नियन्त्रण फिर्ता लिन नेदरल्यान्ड्सलाई दबाब दिन थप प्रयास गर्ने आशा गर्दछ।” वक्तव्यमा थपिएको छ, “नेदरल्यान्ड्सले गरेको गल्ती छिट्टै सुधार गर्न चीनले युरोपेली सङ्घलाई आफ्नो प्रभाव प्रयोग गर्न स्वागत गर्दछ।”
प्रकाशित: २४ कार्तिक २०८२, सोमबार