Technology Khabar २२ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ। मङ्गलेखानी बस्तीका दिवङ्गत देविप्रसाद छन्त्यालको स्मृतिमा उहाँका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गरेका हुन्।
गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रुपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवङ्गत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गिता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबाहक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए।
भौगोलिक रूपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्वशिक्षकसमेत रहेका सहयोगदाता गीता फगामी छन्त्यालले बताइन्।
उक्त अवसरमा विद्यालयले सहयोगदातालाई फुल माला र अविर लगाएर सम्मानसमेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिए। रासस
प्रकाशित: २२ कार्तिक २०८२, शनिबार