अर्बपति इलन मस्कले बिहीबार राति टेस्लाको वार्षिक सेयरधनी बैठकमा मञ्चमा गएर ठूला दावी र वाचा गरेका छन्। उनले कम्पनी अब “लगभग सहज” अवस्थामा पुगेको र फुल सेल्फ ड्राइभिङ (एफएसडी) सुविधा भएका कारका मालिकहरूलाई “टेक्स्ट गर्दै ड्राइभ गर्न” अनुमति दिन सक्ने बताए।
अहिले टेस्लाका सवारीसाधनहरूले चालकको आँखाको निगरानी गरेर उनीहरू सडकमा ध्यान दिइरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्छन्, तर मस्कका अनुसार टेस्लाले अब “एक वा दुई महिनाभित्र” यस्तो एफएसडी संस्करण ल्याउनेछ जसले चालकको निगरानी बिना नै टेक्स्ट गर्दै ड्राइभ गर्न दिनेछ।
हाल टेस्लाको एफएसडी स्तर २ स्वचालित प्रणालीमा सीमित छ। मस्कले स्तर ४ क्षमतामा पुग्ने वाचा गरेका छन्, जसमा सवारी आफैं सबै ड्राइभिङ कार्य गर्न सक्छ र चालक पूर्ण रूपमा निष्क्रिय रहन सक्छ।
उनले कम्पनीले पहिलोपटक सुरक्षासम्बन्धी डाटा मूल्याङ्कन गर्ने बताए तर टेक्स्टिङ सुविधा कानूनी रूपमा कसरी कार्यान्वयन गरिँदैछ भन्नेबारे केही खुलाएनन्।
इन्ग्याजेटका अनुसार साइबरक्याबबारे कुरा गर्दै मस्कले भने, यसको उत्पादन अर्को वर्ष अप्रिलदेखि सुरु हुनेछ। स्वचालित सञ्चालनका लागि विशेष रूपमा डिजाइन गरिने भएकाले यसमा पेडल, स्टियरिङ व्हील र साइड मिरर हुनेछैन।
मस्कका अनुसार साइबरक्याबको निर्माण प्रक्रिया सामान्य कार उत्पादनभन्दा पूर्ण रूपमा फरक हुनेछ र फोन उत्पादन प्रक्रियासँग मिल्दोजुल्दो हुनेछ। त्यसैले उनले कम्पनीले प्रत्येक १० सेकेन्डमा एक युनिट तयार गर्न सक्ने विश्वास व्यक्त गरे।
मस्कले जो रोगनको कार्यक्रममा उल्लेख गरेको उड्ने कारबारे पनि कुरा गरे। कार्यक्रममा सोधिँदा उनले भने, यसको प्रदर्शन अब २०२६ अप्रिल १ मा हुनेछ, जुन उनले पहिले रोगनलाई भनेझैं यो महिना वा अर्को महिना होइन।
त्यो प्रदर्शन साँच्चै हुनेछ वा ‘एप्रिल फूल’ मात्र, त्यो भने हेर्न बाँकी छ। तर मस्कका अनुसार टेस्लाको उड्ने सवारीको उत्पादन त्यसको सार्वजनिक प्रदर्शनको करिब एक वर्षपछि सुरु हुनेछ। मस्कका समयसीमा सम्बन्धी दाबीहरू प्रायः अतिशयोक्तिपूर्ण हुने भएकाले यस्ता वाचाहरूलाई सावधानीपूर्वक लिन सुझाव दिइएको छ।
मस्क मञ्चमा बोल्दै गर्दा, उनको छेउमा एउटा ‘अप्टिमस’ ह्युमनाइड रोबोट उभिएको थियो। मस्कका अनुसार, अप्टिमस “सबैभन्दा ठूलो उत्पादन” बन्नेछ — मोबाइल फोनभन्दा पनि ठूलो, “कुनै पनि चीजभन्दा ठूलो।”
टेस्लाले सुरुवातमा एक मिलियन इकाइ उत्पादन लाइनबाट काम सुरु गर्नेछ, त्यसपछि १० मिलियन, र अन्ततः वर्षमा १०० मिलियनदेखि एक अर्ब रोबोटसम्म उत्पादन गर्ने लक्ष्य राखेको छ।
मस्कले भविष्यको यस्तो संसारको कल्पना गरेका छन् जहाँ यी मानवसदृश रोबोटहरूले मानिसहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नेछन्… र अपराधीहरूलाई जेल पठाउने सट्टा, अप्टिमसले उनीहरूलाई पछ्याएर अपराध गर्नबाट रोक्नेछ।
मस्क मञ्चमा जानुअघि, टेस्लाका सेयरधनीहरूले आगामी १० वर्षमा उनको पारिश्रमिक प्याकेजलाई स्वीकृति दिएका थिए, जसको मूल्य १ ट्रिलियन डलरसम्म पुग्न सक्छ। तर मस्कलाई पहिलो ट्रिलियनियर बन्नका लागि टेस्लाले ८.५ ट्रिलियन डलर बजार मूल्यमा पुग्नुपर्नेछ (हालको करिब १.४ ट्रिलियन डलरबाट) र कम्तीमा एक मिलियन अप्टिमस रोबोट बेच्नुपर्नेछ।


