Technology Khabar २३ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
फ्रान्सले बिहीबार चिनियाँ अनलाइन फास्ट–फ्यासन खुद्रा कम्पनी शिनमाथि बालकजस्ता योनजन्य खेलौना र प्रतिबन्धित हतियार बिक्री गरेको आरोप लगाउँदै युरोपेली संघलाई औपचारिक अनुसन्धान गर्न दबाब दिएको छ।
रोयटर्सका अनुसार फ्रान्सले शिनमाथि अवैध वस्तु बिक्री गरेको आरोपमा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको छ। यसबीच, शिनले तेस्रो पक्षका विक्रेताहरूको समीक्षा गर्न फ्रान्समा आफ्नो बजार बन्द गरेको र विश्वभर योनजन्य खेलौना को बिक्री रोकिसकेको जनाएको छ।
“फ्रान्सले युरोपेली आयोग र सबै सदस्य राष्ट्रहरूलाई आफ्नो देशभित्र भएका गम्भीर उल्लङ्घनबारे सावधान गराएको छ र अन्य युरोपेली देशहरूमा पनि यस प्लेटफर्मसँग सम्बन्धित यस्ता जोखिम हुनसक्ने अपेक्षा गरेको छ,” फ्रान्सका अर्थमन्त्री रोलान लेस्कुर र डिजिटल मन्त्री एन ले हेन्नाफले ईयूका प्रविधि प्रमुख हेना भिर्कुननलाई पठाएको पत्रमा लेखेका छन्।
पत्रका अनुसार फ्रान्सले युरोपेली आयोगलाई ढिलाइ नगरी अनुसन्धान गर्न आग्रह गरेको छ, जसले यस प्लेटफर्ममा अवैध वस्तुहरू बिक्री हुनसकेको कारण पत्ता लगाउन सघाउनेछ। यो पत्र बुधबार राति पठाइएको र बिहीबार पत्रकारहरूलाई बाँडिएको थियो।
युरोपेली आयोगका प्रवक्ताले उक्त पत्र प्राप्त भएको पुष्टि गर्दै आयोगले त्यसको मूल्याङ्कन गरी आगामी कदमबारे निर्णय गर्ने बताएका छन्।
शिनलाई युरोपेली संघको डिजिटल सेवा ऐनअन्तर्गत “अत्यन्त ठूलो अनलाइन प्लेटफर्म” को रूपमा वर्गीकृत गरिएको छ, जसअनुसार आयोगलाई कानुन उल्लङ्घन भएको भए जाँच गर्ने अधिकार प्राप्त छ।
प्रकाशित: २३ कार्तिक २०८२, आईतवार