Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
यो वर्ष अहिले सम्म एक्सबक्सका लागि राम्रो भएको छैन। माइक्रोसफ्टले सेप्टेम्बर ३० मा समाप्त भएको त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ जसमा एक्सबक्स हार्डवेयरबाट हुने आम्दानी गत वर्षको तुलनामा ३० प्रतिशतले घटेको देखाइएको छ।
ध्यान दिनुपर्ने कुरा के हो भने यो आम्दानीमा आएको गिरावटमा कन्सोलको मूल्य वृद्धिको असर परेको छैन किनकि २० देखि ७० डलरसम्मको मूल्य वृद्धि अक्टोबर ३ देखि मात्रै लागू भएको हो। त्यस्तै एक्सबक्स गेम पास अल्टिमेट सदस्यता शुल्क पनि अक्टोबरमा मात्रै २० डलरबाट ३० डलरसम्म बढाइएको थियो।
यसैबीच एक्सबक्स सामग्री र सेवाबाट हुने आम्दानी भने गत वर्षको उही अवधिसँग तुलना गर्दा खासै परिवर्तन भएको छैन। माइक्रोसफ्टका अनुसार एक्सबक्स सदस्यता र तेस्रो पक्षका सामग्रीहरूबाट आम्दानीमा वृद्धि भएको छ तर आफ्नै (फर्स्ट पार्टी) गेम सामग्री घटेकाले त्यो वृद्धि आंशिक रूपमा प्रभावित भएको छ।
इन्ग्याजेटका अनुसार यो वर्षको सुरुमा माइक्रोसफ्टले विश्वव्यापी रूपमा कर्मचारी कटौती गर्दा सबैभन्दा बढी प्रभावित हुने विभागहरूमध्ये एक्सबक्स पनि एक थियो। सो क्रममा कम्पनीले एक्सबक्सका लागि विकास भइरहेका केही खेलहरू रद्द गरेको थियो।
कम्पनीले वर्ष २००० को फर्स्ट-पर्सन सुटर पर्फेक्ट डार्कको आधुनिक संस्करण रद्द गर्यो र उक्त खेलमा काम गरिरहेको एक्सबक्स स्टुडियो समेत बन्द गर्यो। त्यस्तै, एक्सबक्स स्टुडियो रेयरद्वारा लामो समयदेखि विकास भइरहेको एभरवाइल्ड परियोजनासमेत रद्द गरिएको थियो।
समग्र रूपमा हेर्दा माइक्रोसफ्टको आम्दानी १७ प्रतिशतले बढेर ७७.७ अर्ब डलर पुगेको छ, र सञ्चालन नाफा २२ प्रतिशतले वृद्धि भएको छ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले एक्समा कम्पनीको आम्दानीसम्बन्धी केही प्रमुख बुँदाहरू साझा गरेका छन्, जसमा उनले मुख्य रूपमा एआई क्षेत्रमा भइरहेको प्रगतिमा ध्यान केन्द्रित गरेका छन्। उनले कम्पनीले यस वर्ष आफ्नो एआई क्षमतामा ८० प्रतिशत वृद्धि गर्ने र आगामी दुई वर्षमा डाटा सेन्टरको क्षमता दोब्बर बनाउने बताएका छन्।
प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार