Technology Khabar १३ कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
विश्वव्यापी चिप आपूर्तिको संकट यथावत् रहेमा केही अटोमोबाइल कम्पनीहरूले आगामी दुईदेखि तीन हप्ताभित्र ब्राजिलमा उत्पादन बन्द गर्नसक्ने एक अधिकारीले मंगलबार बताएका छन्। उनले ब्राजिल सरकारले समाधानका लागि चिनियाँ अधिकारीहरूसँग सम्पर्क गरिरहेको जानकारी पनि दिएका छन्।
ब्राजिलको विकास, उद्योग, व्यापार र सेवा मन्त्रालयका सचिव उआलास मोरेइराले चीन र नेदरल्याण्डबीचको चिप निर्माता कम्पनी नेक्स्पेरियालाई लिएर उत्पन्न विवादका कारण सुरु भएको विश्वव्यापी संकटले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलका कुन अटोमोबाइल कम्पनीहरूलाई पहिलो असर पार्ने हो भन्ने खुलाएका छैनन्।
“यदि छोटो समयमा समाधान नभए, दुई वा तीन हप्ताभित्र केही अटोमोबाइल कम्पनीहरूका उत्पादन प्लान्टहरू बन्द हुनसक्छन्,” मोरेइराले ब्राजिलका अटोमोबाइल कम्पनीहरूको संघ अनफाभियाका अध्यक्षसँगको बैठकपछि पत्रकारहरूलाई बताए।
सो बैठकमा ब्राजिलका उपराष्ट्रपति र मन्त्रालयका प्रमुख जेराल्दो आल्कमिन पनि सहभागी थिए।
रोयटर्सका अनुसार गत सेप्टेम्बरमा नेदरल्याण्ड सरकारले कार र उपभोक्ता इलेक्ट्रोनिक्सका लागि चिप उत्पादन गर्ने कम्पनी नेक्स्पेरियाको नियन्त्रण लिएको थियो। सरकारले यसको चिनियाँ मातृ कम्पनी विङटेकलाई प्राविधिक जानकारी स्थानान्तरण हुनसक्ने चिन्ता जनाउँदै यस्तो कदम चालेको बताइएको छ।
उक्त कदमको प्रतिक्रियामा चीनले नेक्स्पेरियालाई आफ्ना उत्पादन चीनबाट निर्यात गर्न रोक लगाएको छ। यद्यपि कम्पनीका अधिकांश चिप युरोपमा उत्पादन हुने गर्छन्, तर करिब ७० प्रतिशत चिप वितरण अघि चीनमै प्याक गरिन्छन्।
मोरेइराका अनुसार आल्कमिनले यस विषयमा छलफल अघि बढाउनका लागि चीनस्थित ब्राजिलेली राजदूत र ब्राजिलस्थित चिनियाँ राजदूत दुवैसँग सम्पर्क गरिसकेका छन्। निजी क्षेत्रले पनि दुवै पक्षबीच संवाद सुरु गर्न आग्रह गरेको उनले बताएका छन्।
प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार