Technology Khabar ११ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
ओपनएआईले भारतका सबै प्रयोगकर्ताका लागि एक वर्षसम्म निःशुल्क च्याटजीपीटी गो योजना उपलब्ध गराउने घोषणा गरेको छ।
नोभेम्बर ४ देखि सुरु हुने सीमित प्रमोशनल अवधिमा साइनअप गर्ने प्रयोगकर्ताहरूलाई यो योजना एक वर्षका लागि निःशुल्क प्रदान गरिनेछ। कम्पनीले मंगलबार गरेको घोषणामा यो प्रस्ताव कति समयसम्म रहने हो भन्ने खुलाएको छैन। भारतका अहिलेका च्याटजीपीटी गो सदस्यहरू पनि निःशुल्क १२ महिनाको योजनाका लागि योग्य हुने कम्पनीले जनाएको छ।
महिनामा ५ डलरभन्दा कम मूल्यमा उपलब्ध च्याटजीपीटी गो योजना ओपनएआईले अगस्टमा भारतमा सुरु गरेको थियो, जुन कम्पनीको सबैभन्दा सस्तो भुक्तानी योजना हो। यो सेवा पछि इन्डोनेशिया र यस महिनाको सुरुमा एसियाका थप १६ देशमा विस्तार गरिएको छ।
७० करोडभन्दा बढी स्मार्टफोन प्रयोगकर्ता र एक अर्बभन्दा बढी इन्टरनेट सदस्य भएका कारण भारत ओपनएआईका लागि प्रमुख बजार बनेको छ। कम्पनीले अगस्टमा नयाँ दिल्लीमा आफ्नो कार्यालय स्थापना गरेको र हाल स्थानीय टिम विस्तार गरिरहेको जनाएको छ।
यस वर्षको सुरुवातमा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानले भारतलाई अमेरिका पछिको दोस्रो ठूलो बजार भएको बताएका थिए। तर कम्पनीका भुक्तानी योजनाबाट भारतमा आम्दानी गर्न कठिन भइरहेको देखिएको छ। टेकक्रन्चले उद्धृत गरेको एपफिगर्सका तथ्याङ्कअनुसार, अगस्टअघि ९० दिनमा ChatGPT एप २९ मिलियनभन्दा बढी पटक डाउनलोड भए पनि, सो अवधिमा इन–एप खरिदबाट जम्मा ३.६ मिलियन डलर मात्र आम्दानी भएको थियो।
ओपनएआईका अनुसार च्याटजीपीटी गो ले निःशुल्क संस्करणभन्दा १० गुणा बढी प्रयोग सुविधा प्रदान गर्छ, जसमा उत्तर सिर्जना, तस्बिर बनाउने र फाइल अपलोड गर्ने क्षमता समावेश छन्। यसमा प्रयोगकर्ताका लागि व्यक्तिगत अनुभव दिने सुधारिएको मेमोरी सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
“भारतमा च्याटजीपीटी गो सुरु गरेयता प्रयोगकर्ताको अपनत्व र सिर्जनशीलताले हामीलाई निकै प्रेरित गरेको छ,” ओपनएआईका उपाध्यक्ष तथा च्याटजीपीटी प्रमुख निक टर्लीले भने। “हामी उत्साहित छौं कि प्रयोगकर्ताहरूले यी उपकरण प्रयोग गरेर के–के नयाँ कुरा सिर्जना, सिकाइ र उपलब्धि हासिल गर्छन् भन्ने हेर्न।”
ओपनएआईका प्रतिस्पर्धीहरू, जस्तै पर्प्लेक्सिटी र गुगल, पनि भारतको विशाल र युवा प्रयोगकर्ता समूहमा पहुँच विस्तार गर्न प्रयासरत छन्। पर्प्लेक्सिटीले हालै एयरटेलसँग साझेदारी गर्दै ३६ करोड ग्राहकका लागि निःशुल्क पर्प्लेक्सिटी प्रो सदस्यता दिने घोषणा गरेको थियो। त्यसैगरी, गुगलले भारतका विद्यार्थीका लागि एक वर्षको निःशुल्क AI Pro योजना सुरु गरेको छ।
ओपनएआईले नोभेम्बर ४ मा बेंगलुरुमा डेभडे एक्सचेञ्ज डेभलपर सम्मेलन आयोजना गर्न लागेको छ, जहाँ भारतका डेभलपर र व्यवसायका लागि विशेष घोषणा हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार