यूट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनाको अवधिमा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी तिरेको कम्पनीले बिहीबार घोषणा गरेको छ।
“आजको ८ अर्ब डलरको भुक्तानीले विज्ञापन र सदस्यता दुबै इन्जिन पूर्णरूपमा सञ्चालनमा रहेको प्रमाणित गर्छ,” यूट्युबका ग्लोबल हेड अफ म्युजिक लियोर कोहेनले एक विज्ञप्तिमा भनेका छन्। “यो अंक कुनै अन्त्य होइन, बरु विश्वव्यापी रूपमा प्रत्येक कलाकार, गीतकार र प्रकाशकका लागि दीर्घकालीन घर बनाउने हाम्रो यात्रामा देखिएको महत्वपूर्ण र स्थायी प्रगतिको प्रतीक हो।”
कोहेनले उक्त उपलब्धि बुधबार बिलबोर्ड ल्याटिन म्युजिक वीकमा भएको एक कार्यक्रममा पहिलोपटक घोषणा गरेका थिए।
टेकक्रञ्चका अनुसार यो उपलब्धिले प्लेटफर्मका लागि नयाँ रेकर्ड कायम गरेको छ। युट्युबको वार्षिक संगीत उद्योग भुक्तानी २०२२ यता २ अर्ब डलरले बढेको हो।
त्यसबेला कम्पनीले जुलाई २०२१ देखि जुन २०२२ सम्म संगीत उद्योगलाई ६ अर्ब डलर तिरेको रिपोर्ट गरेको थियो। त्यसको एक वर्षअघि, २०२१ मा, युट्युबले १२ महिनामा ४ अर्ब डलर भुक्तानी गरेको घोषणा गरेको थियो।
बिहीबारको यो घोषणा स्पोटिफाइले यसै वर्ष २०२४ मा संगीत उद्योगलाई १० अर्ब डलर तिरेको बताएको केही महिनापछि आएको हो। कम्पनीले २०२३ मा ९ अर्ब डलर तिरेको थियो। उल्लेखनीय कुरा के हो भने, ती सम्पूर्ण रकम कलाकारहरूले मात्र होइन, रेकर्ड लेबल, प्रकाशक, गीतकार र अन्य सरोकारवालाले पनि पाउँछन्।
यूट्युबले आफ्नो विज्ञापन र सदस्यतामुखी दुई इन्जिन मोडलबाट राम्रो प्रगति भइरहेको बताएको छ। कम्पनीका अनुसार विश्वभर १२५ मिलियनभन्दा बढी म्युजिक र प्रिमियम सदस्यहरू छन्, जसमा ट्रायल प्रयोगकर्तासमेत छन्। साथै, हरेक महिनामा २ अर्बभन्दा बढी लगइन भएका दर्शकहरूले संगीत भिडियो हेर्ने गरेको कम्पनीले जनाएको छ।
“प्लेटफर्मको विश्वव्यापी पहुँच विस्तार हुँदै जाँदा कलाकार र गीतकारहरूले युट्युबमा दीर्घकालीन संगीत करिअर र स्थायी प्रशंसकहरू बनाउने सम्भावना पनि बढ्दै गएको छ,” कम्पनीले ब्लग पोस्टमा लेखेको छ। युट्युब हाल १०० भन्दा बढी देशमा उपलब्ध छ र ८० भाषा समर्थन गर्छ।
कम्पनीले गत महिना ‘मेड अन युट्युब’ कार्यक्रममा विगत चार वर्षमा स्रष्टा, कलाकार र मिडिया कम्पनीहरूलाई १०० अर्ब डलरभन्दा बढी भुक्तानी गरेको पनि जनाएको थियो।
